२१ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट दर्ता भएको पत्र गैरकानूनी भएको बताएका छन् ।
संसदीय दलको तर्फबाट शुक्रवार प्रेस विज्ञप्ति जारी गरि भट्टराईले उक्त पत्रप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
दलको विधान बमोजिम विधितव रूपमा चुनिएका संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली रहेको स्पष्ट पार्दै उनले प्रचलित कानून बमोजिम बाहेक कोही कसैले पत्राचार गरे त्यो गैरकानुनी हुने दाबी गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ ‘नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैर कानूनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानूनी आधार, औचित्य र प्रभाव हुन सक्दैन ।’
मुख्य सचेतक भट्टराईले निर्वाचन आयोगल गत माघ ११ गते पार्टीको बैठकका मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेका हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनपर्ने उल्लेख भएकाले त्यसविपरीतका कुनै पनि बैठक र पत्राचारले मान्यता नपाउने बताएका छन् ।
भट्टराईले दलको विधान बमोजिम नेता प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरीनै रहेको भन्दै संसद सचिवालयलाई कुनै द्विविधामा नपर्न ध्यानाकर्षण समेत गराएका छन् ।
प्रचण्ड–माधव पक्षीय सांसदहरूले प्रधानमन्त्री ओलीसहित उपेनता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीलाई कारबाही गरिएका पत्र बिहिबार संसद सचिवालयमा दर्ता गराएका थिए ।
वि.सं.२०७७ फागुन २१ शुक्रवार १७:४९ मा प्रकाशित































