चैत ३, काठमाडौं । पार्टी छाडेर सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता ल्याउन नेकपा (माओवादी केन्द्र)ले कार्यदल नै बनाएको छ । मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो कार्यदल बनाएको हो ।
माओवादी केन्द्रले मन्त्रीलाई फर्काउन नारायणकाजी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा श्रेष्ठसहित देव गुरुङ र वर्षमान पुन रहेका छन् ।
कार्यदलका सदस्य वर्षमान पुनका अनुसार मन्त्रीहरुसँग भेटेरै कुराकानी गरिनेछ । फिर्ता ल्याउन अन्तिमसम्म प्रर्यत्न गरिनेछ ।
उनका अनुसार फिर्ता नभए राजनीतिक दलको ऐनअनुसार कारबाही गरिनेछ । त्यस्तो अवस्थामा उनीहरुको सांसद पद स्वतः जानेछ ।
अहिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री दावा लामा छन्।