९ चैत, काठमाडौं । गलत क्रियाकलाप गरेको अभियोगमा एकपछि अर्को गर्दै उच्च सैनिक कारबाहीमा परेका छन् । पछिल्लो समय गलत क्रियाकलापमाथि जंगी अड्डा कडा रुपमा प्रस्तुत भइरहँदा अवकाश प्राप्त समेत गरेर ४७ जना उच्च सैनिक अधिकृत कारबाहीमा परेका हुन् ।
यतिधेरै उच्च सैनिक कारबाहीमा परेको यो पहिलोपटक भएको पनि सोमबारको कान्तिपुर दैनिकमा समाचार छ ।
जंगी अड्डाले अवकास प्राप्त उपरथी सुधीर श्रेष्ठले अनियमितता गरेबापत बिगो भराएको छ भने सहायक रथीहरु सुरेन्द्रसिंह रावल चेन अफ कमाण्ड नमान्दा, प्रयोगजंग राणा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर र पंकज कार्की यौन दुव्र्यवहार अभियोगमा बर्खास्त भएका हुन् ।
नेपाली सेनाका अनुसार २०७७ बैसाखपछि फागुन अन्त्यसम्म रथीवृन्द तथा अधिकृत ४७ र पदीक तथा अन्य दर्जाका ९ सय ३७ जनाले दण्ड सजाय पाएका छन् ।
रथिवृन्द अधिकृतर्फ १३ जना बर्खास्तमा परेका हुन् । १६ जनालाई सचेत पत्र थमाइएको छ । ८ जनाको बढुवा रोक्का र २ जनाको दर्जा घटुवा गरिएको छ भने २ जनालाई राजस्वमा दाखिला गराउन लगाइएको छ । ५ जनालाई नसिहत दिएको र एकजनालाई कैदमा पठाइएको छ ।
पदिक तथा अन्य दर्जामा १ सय २९ जना बर्खास्त भएका छन् । ५९ जनालाई कैद, १ सय ७६ जनालाई सचेत पत्र, ५१ जनालाई नसिहशत, १ सय १८ जनालाई राजस्व दाखिला, १ सय २१ जनालाई तलबवृद्दि रोक्का, ८५ जनाको घटुवा र १ सय ९८ जनाको बढुवा रोक्का गरिएको छ ।
वि.सं.२०७७ चैत ९ सोमवार ०९:३९ मा प्रकाशित





























