
१० चैत, काठमाडौं । भारतमा दुई नेपाली महिलालाई १० वर्षको जेल सजाय सुनाइएको छ ।
२०१९ फेब्रअरी १७ का दिन रुपैडिहा बसपार्कमा चरेससहित पक्राउ गरिएको भनिएका उनीहरुलाई शनिबार उत्तर प्रदेशको बहराइचका न्यायाधिश नितिन पाण्डेयले उनीहरुलाई १० वर्ष जेल सजायको फैसला गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
भारतीय संचारमाध्यमका अनुसार जेल पर्नेमा रुकुमकी शिरकुमारी कामी र रोल्पाकी मायादेवी रहेका छन् । दुवैको पूरा ठेगाना भने खुलाइएको छैन । अदालतले उनीहरुलाई एक\एक लाख जरिवाना तोकेको छ । उक्त जरिवाना बुझाउन नसके थप दुई वर्ष जेल बस्नुपर्ने पनि बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी इश्वर कार्कीले दुई नभई तीन महिललालाई जेल सजाय भएको जानकारी आएको बताएको मंगलबारको कान्तिपुर दैनिकमा समाचार छ । उनले भारतीय समकक्षीसँग यसबारेमा विस्तृत जानकारी लिने काम भइरहेको समेत बताइएको छ । बहराइचको कारागारमा दर्जन भन्दा बढी नोपली महिला रहेको अनुमान प्रहरीले गरेको छ ।