
१२ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय समितिको बैठक बोलाएको छ।
उक्त बैठक काठमाडौंमा बस्ने गरी शुक्रबारका लागि बोलाएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरेका निर्णयहरू, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल गरिनेछ ।
काठमाडौंमा सोमबार बसेको उक्त समूहका उपलब्ध स्थायी कमिटी सदस्यको बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ राजनीतिक रूपमा सामूहिक दिने निर्णय गरेको थियो।
यसैगरी नेपाल समूहका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीले मागेको स्पष्टिकरण पनि तयार पारेका छन्।
यसअघि अध्यक्ष ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै एमाले वरिष्ठ नेता नेपालसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए।