काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजनैतिक आन्दोलनको लागि ३ राजनैतिक दलसँग मोर्चा कायम गर्दै आएकोमा पत्रकार महासंघको निर्वाचनमा त्यसको विपरित राजनैतिक दलसंग मोर्चा कायम गर्न पुगेको छ ।
विप्लव नेतृत्वको नेकपाले बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सँग पुस १० गते राजनैतिक आन्दोलनको लागि रणनीतिक सँयुक्त मोर्चाको घोषणा गरेको थियो ।
पुस १० गतेको सँयुक्त मोर्चाको औचित्य सकिएको र भंग भएको मोर्चामा सहभागी कुनैपनि दलले घोषणा गरेका छैनन् तर पत्रकारको सत्ताको रुपमा चिनिने महासंघको निर्वाचनमा भने विप्लवको पत्रकार संगठनले नेकपा एमाले निकटको पत्रकार संगठन संग सँयुक्त मोर्चामा सहभागिता जनाउन पुगेको छ । जसमा विप्लब नेतृत्वको पत्रकारहरुको भातृ संगठन जनपत्रकार संगठन नेपालको तर्फबाट महिला उपाध्यक्षमा दाना केसी, केन्द्रिय सदस्यमा शुदर्शनराज पाण्डे र बसन्त विश्वकर्माले उम्मेदवारी दिएका छन् । विप्लव नेतृत्वको नेकपालाई समर्थन गर्दै आएका केही पत्रकारहरुले भने पत्रकार जन्मदेव जैसीलाई महासंघको सचिवमा स्वतन्त्र रुपमा उभ्याएका छन ।