२२ वैशाख, काठमाडौं । सरकारले भारतबाट हवाई उडानमार्फत आउने यात्रुहरुलाई राख्नका लागि ८ वटा होटेललाई क्वारेन्टिन तोकेको छ ।
भारतबाट हवाई उडानमार्फत नेपाल आउने यात्रुहरुलाई १० दिन अनिवार्य गर्दै होटल क्वारेन्टिनमा राख्नका लागि होटलहरु सूचिकृत गरिएको हाे ।
बिहीबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपनि भारतबाट सातामा दुई उडान हुने भएपछि यस्तो व्यवस्था गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
भारतबाट आउने हवाई यात्रुहरु गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालास्थित अमादब्लम होटेल, गौशालास्थित रिडर्स इन, गौशालास्थित आनन्द आश्रम, जगातीसिथत फार्म हाउस रिर्सोट र जगातीस्थित ए–वान रिर्सोटलाई होटेल क्वारेन्टिनका रुपमा तोकिएको छ ।
भारतबाट आउने यात्रुलाई विमानस्थलबाट सीधै होटेलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने मन्त्रालयले जनाएको छ । ती होटलहरुले मूल्यअभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शूल्क लिन पाउने सूचनामा जनाइएको छ ।
नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिइ प्रत्येक यात्रुहरुका निम्ति होटल क्वारेन्टिनका लागि सहजिकरण गरिने बताइएको छ ।
सम्बन्धित यात्रुहरुले १० दिनको होटल क्वारेन्टिनको मापदण्ड पालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने मन्त्रालयका सूचना अधिकारी प्रेम अधिकारीले बताए ।
वि.सं.२०७८ वैशाख २२ बुधवार १४:३० मा प्रकाशित































