वैशाख २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै गर्दा एमालेको माधवकुमार नेपाल समूहले केहि एजेण्डा अगाडि सार्दै सामूहिक राजीनामाको चेतावनी दिएको थियो । माधव समूहले सामूहिक राजीनामा त दिएन तर, ओलीलाई विश्वासको मत लिनबाट भने रोक्यो । माधव समूहकै असहयोगका कारण अहिले ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।
तर, विश्वासको मत प्राप्त नगरे पनि ओली भने पुनः प्रधानमन्त्री बन्ने लाईनमा देखिएका छन् । संसद अंकगणितमा देखिएको जटिलताका कारण उनको सम्भावना बढेको हो । यदि राष्ट्रपतिले तोकेको समयसीमाभित्र गठबन्धनले बहुमत देखाउन नसके ठूलो दलको हैसियतमा ओली पुनः प्रधानमन्त्री बन्ने छन् ।
संविधानको धारा ७६ (२) अन्तर्गतको सरकार नबने राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार सरकार गठनको लागि आव्हान गर्नेछिन् । धारा ७६ (३) मा संसदको सबैभन्दा ठूलो दलको नेतालाई नै प्रधानमन्त्रीमा नियुक्ती दिने प्रावधान छ ।
जसपा र माधव पक्ष निर्णायक
गठबन्धनको सरकार बन्ने नबन्ने भन्ने विषयमा एमालेको माधव कुमार नेपाल समूह र जसपा निर्णायक देखिएको छ । अहिले जसपा विभाजित छ । जसपाको महन्थ ठाकूर समूह ओलीलाई नै निरन्तरता दिने लाईनमा देखिएको छ । सँगै माधव कुमार नेपाल पक्षको अन्यौंलताले पनि ओलीकै निरन्तरताको खोजी गरेको देखिन्छ ।
सामूहिक राजीनामाको धम्की दिईरहेको माधव कुमार नेपाल पक्षले कुनै निर्णय नलिए वा जसपा एक ढिक्का नबने गठबन्धनबाट सरकार बन्ने सम्भावना रहन्न । १७१ सदस्यीय प्रतिनिधिसभामा एमालेसँग एकलै १२१ मत छ । यदि २८ मत भएको (विश्वासको मत बेला देखिएको) माधव समूह र १५ मत भएको जसपाको महन्थ ठाकूर समूह अन्यौंलमा बसेमा वैकल्पिक सरकार बन्ने अवस्था रहन्न ।
यदि माधव समूहले सामूहिक राजीनामा दिएमा वा महन्थ ठाकूर समूहले वैकल्पिक सरकार बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका सहज रुपमा सरकार बन्ने निश्चित छ । तर हालसम्म पनि दुवै समूहले कित्ता स्पष्ट पारेका छन् । यसअघि ओलीले संसदमा विश्वासको मत लिँदै गर्दा माधव समूहले बहिस्कार गरेको थियो भने ठाकूर समूहले तटस्थमा मतदान गरेको थियो ।
माधव समूहले सामूहिक राजीनामा दिने संकेत
वैकल्पिक सरकार निर्माणको विषयमा जारी बहसमा दलहरुले माधव नेपाल समूहको साथ र सहयोग खोजेका छन् । सोमबार बसेको नेपाली कांग्रेसको बैठकले पनि माधव समूहसँग सहयोग माग्ने निर्णय गरेको थियो । कांग्रेसले असन्तुष्ट माधव समूहका सांसदले राजीनामा दिएरै आफ्नो गठबन्धनको सरकार बन्नेमा विश्वास व्यक्त गरेको थियो ।
यस्तोमा माधव समूहका प्रभावशाली नेता घनश्याम भुसालले सामूहिक राजीनामा दिने संकेत गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले ओलीसँग आत्मसर्मण गरेर गद्दारी नगर्ने स्पष्ट पारेका हुन् ।
हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा…
Posted by Ghanashyam Bhusal on Tuesday, May 11, 2021
‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ तर, आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ’, उनले भनेका छन् ।
ओलीको लाईन पुनः संसद विघटन गर्ने तर्फ रहेको बुझाई माधव समूहको देखिन्छ । ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावी खण्डन हुँदैन’, भुसालले लेखेका छन् ।
वि.सं.२०७८ वैशाख २९ बुधवार १२:५१ मा प्रकाशित






























