वैशाख ३०, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग विना लिखित सहमति गर्न नहुने टिप्पणी गरेकी छिन् । पार्टी विवादबारे निकास खोज्न ओली र माधव नेपालबीच वार्ता चलिरहेकोप्रति टिप्पणी गर्दै उनले यस्तो भनेकी हुन् ।
नेतृ झाँक्रीले ओलीसँग ठोस प्रस्ताव विना छलफलमा बस्नु पनि गलत रहेको भन्दै नेता माधव नेपालको आलोचना गरेकी छिन् । उनले ओलीसँग विद्रोह नै उचित भएको बताएकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्, ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।’
अध्यक्ष ओली र नेता नेपालबीच पार्टी विवादबारे निकास खोज्न बुढानिलकण्ठस्थित एक व्यवसायीको घरमा वार्ता चलिरहेको छ । माधव पक्षले राखेका ६ बुँदे मागमाथि दुई नेताबीच वार्ता भईरहेको छ । माधव पक्षले आफ्ना माग पुरा नभए सामूहिक राजीनामा दिने बताईरहेको छ ।
वि.सं.२०७८ वैशाख ३० बिहीवार १७:३२ मा प्रकाशित






























