३१ वैशाख, काठमाडौँ । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल(काहुरास्ट) ले सरकारले नागरिकप्रतिको कर्तव्यबाट सरकार विमुख रहनु दुखद् पक्ष भएको बताएको छ ।
महासचिव मीना शर्माद्वारा जारी प्रेस वक्तव्यमा ‘कोभिड १९ का कारण जनताले अकालमा ज्यान गुमाउनु परेको अवस्था आउन सक्ने सम्भावनाप्रति पूर्वतयारी नगरी बस्दा नै आज यो कहाली लाग्दो स्थिति सिर्जना भएको हो’ ठहर गरिएको छ ।
समस्या निम्तिइ सकेपछि पनि राज्यले आफ्नो दायित्व पुरा गर्नु भन्दा राजनैतिक काममा बढि ध्यान दिएको अनुभूति भएको पनि काहुराष्टले जनाएको छ ।
संकटपूर्ण अवस्थामा पनि औषधीजन्य सामान आयात तथा बिक्री वितरणमा भ्रष्टाचार भएको, औषधीहरुमा १० औँ गुना बढी मूल्य लिने गरेको अस्पतालहरुले चर्को शुल्क लिने गरेको जस्ता बेथितिमा पनि राज्य गैरजिम्मेवार बनिरहेको अवस्थाले सरकार नागरिकप्रति जिम्मेवार नभएको स्पष्ट भएको बताइएको छ ।
त्यस्तै ‘रोजीरोटीका लागि दैनिक मजदुरी नगरि नहुने नागरिकको अवस्था हेरी उनीहरुको ब्यबस्थापन गर्न, सरकारका सबै संयन्त्र प्रयोग गरी अस्पताल, अक्सिजन तथा उपचारको ब्यबस्था सहित नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्न’ पनि काहुराष्ट नेपालले सरकारसँग जोडदार माग गरेको छ ।
विज्ञप्तिको पूर्णपाठ :
मिति : ३० वैशाख २०७८
प्रेस वक्तव्य
कोरोना (कोभिड १९) का कारण मुलुक अत्यन्त संकटपूर्ण अवस्थामा पुगेको छ । नागरीकहरु उपचारका लागि अस्पतालसम्म पुग्न पाएका छ्रैनन् भने पुगेका पनि उपचार पाउन नसकी अकालमा ज्यान गुमाउनु परेको छ । अस्पतालहरुले अक्सिजन अभावका कारण बिरामी भर्ना गर्न मानिरहेका छैनन् र भर्ना भएकालाई जबर्जस्ती डिस्चार्ज गर्न थालेका समाचार बढिरहेका छन । अक्सिजन खोज्दै बिरामीको आफन्त नै भौतारिँदै हिड्नु परेको घटनाले सबैलाई थप चिन्तीत बनाएको छ । बढ्दो मुत्यु संख्या संगैको भयावह अवस्थाप्रति मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान, (काहुरास्ट) नेपाल दुखित बनेको छ ।
विश्वमा कोभिड १९ को दोस्रो लहर बढ्दै जाँदा र छिमेकी देशमा यसको प्रभाव बढ्दा समेत राज्यले सहि रुपमा पूर्वतयारी नगरी बस्दा नै आज यो कहाली लाग्दो स्थिति सिर्जना भएको हो भन्ने हामीलाई लागेको छ । समस्या निम्तिइ सकेपछि पनि राज्यले आफ्नो दायित्व पुरा गर्नु भन्दा राजनैतिक काममा बढि ध्यान दिएको अनुभूति पनि हामीले गरेका छौं । नागरिकप्रतिको कर्तव्यबाट सरकार विमुख रहनु दुखद् पक्ष हो ।
संकटपूर्ण अवस्थामा पनि औषधीजन्य सामान आयात तथा बिक्री वितरणमा भ्रष्टाचार भएको, औषधीहरुमा १० औँ गुना बढी मूल्य लिने गरेको अस्पतालहरुले चर्को शुल्क लिने गरेको जस्ता बेथितिमा पनि राज्य गैरजिम्मेवार बनिरहेको अवस्थाले सरकार नागरिकप्रति जिम्मेवार नभएको स्पष्ट हुन्छ ।
रोजीरोटीका लागि दैनिक मजदुरी नगरि नहुने नागरिकको अवस्था हेरी उनीहरुको ब्यबस्थापन गर्न, सरकारका सबै संयन्त्र प्रयोग गरी अस्पताल, अक्सिजन तथा उपचारको ब्यबस्था सहित नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्न काहुराष्ट नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
मीना शर्मा
महासचिव
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ११:५८ मा प्रकाशित




























