वैशाख ३१, काठमाडौं । बागमती प्रदेश राष्ट्रिय सभा सदस्यका उम्मेदवार डा. खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएका छन् । गठबन्धनको तर्फबाट उम्मेवारी दिएका उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच सहमती भएपनि फिर्ता नलिने बताएका हुन् ।
माधव कुमार नेपाल पक्षीय एमालेका नेता देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको समर्थन र सहयोगमा उम्मेदवार बनेका थिए । उनले उम्मेदवारी फिर्ताबारे पुनर्विचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको भएको बताएका छन् ।
बागमतीमा एमालेको आधिकारिक उम्मेदवार भने गृहमन्त्री रामबहादुर थापा बादल छन् । उनी एमालेको आधिकारिक चुनाव चिन्ह सुर्य लिएर उठेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका देवकोटा कलम चिन्हमा चुनाव लड्दैछन् ।
२०७८ वैशाख ३० गते भएको राजनीतिक घटनाक्रम पछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरुले मेरो उम्मेदवारी प्रति…
Posted by Khim Lal Devkota on Thursday, May 13, 2021
विभाजनको डिलमा पुगेको एमालेमा भएको पछिल्लो सहमतीसँगै देवकोटाको उम्मेदवारीमाथि प्रश्न उठेको थियो ।
सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै उनले भनेका छन्, ‘मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो । निष्ठा र ईमान्दारिताको राजनीति प्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ । ’
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ११:४६ मा प्रकाशित




























