३१ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना संकटको विषम घडीमा रहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ।
शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई आवश्यक सहयोग गरिदिन हुन भन्दै यस्तो अपील गरेका हुन्।
कोभिड १९ को संक्रमणले उग्र रुप लिइरहेको र अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहँदा पनि सरकारले अहिले सम्म पनि गम्भिर र जिम्मेवार नदेखिएको आरोप उनले लगाएका छन् ।
सभापति देउवाले सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लाग आवश्यक अक्सीजन, आईसीयु वेड, खोप लगायतका औषधीको व्यवस्था गर्न माग गरेका छन् ।
‘‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरि सबै जिल्लामा अक्सीजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको व्यवस्था गर्न माग गर्दछु’, देउवाले विज्ञप्तिम भनेका छन्, ‘यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरि दिन हुन पनि अपील गर्दछु’ वक्तव्यमा भनिएको छ ।
सबैलाई स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहन आग्रह गर्दै सभापति देउवाले सुरक्षा मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्नसमेत कार्यकर्तालाई अनुरोध गरेका छन् ।
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १९:४९ मा प्रकाशित































