३१, बैशाख, काठमाडौं । स्याङ्जा जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । आज जिल्ला समन्वय प्रमुख सीता सुन्दासको आयोजनामा भएको बहुपक्षीय सहभागितामा जुम मिटिङले सो विषयमा नीतिगत निर्णय गरेको नेकपा (एमाले) स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरेले सन्सारन्युजलाई बताए ।
तत्काल अक्सिजन प्लान्ट निर्माणको लागि निजी क्षेत्रलाई आह्वान गरिने र निजी क्षेत्र आकर्षित नभएमा स्थानीय तह र प्रदेश सरकारको सामुहिक लगानीमा शुरूवात गरिने विषयमा निर्णय भएको अध्यक्ष गैरेले बताए । गैरेका अनुसार मिटिङमा छलफल हुंदा जिल्लाभित्र अहिले सबै अस्पतालमा अक्सिजन सिलिन्डर आधारभुत रुपमा रहेको र थप गर्नको लागि तत्काल पहल गर्ने निर्णय भएको छ ।
सर्वपक्षीय जुम मिटिङले हेलु स्थित कालिका सामुदायिक अस्पतालमा आवश्यक पुर्वाधार तत्काल निर्माण गर्ने र डाक्टरको व्यवस्था गर्न प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । मिटिङले स्याङ्जा, हेलु, वालिङ र गल्याङमा सुविधासम्पन्न उपचारको व्यवस्था गर्ने व्यवस्था मिलाउने र अन्य पालिकामा आधारभुत व्यवस्था मिलाउन आवश्यक काम गर्ने निर्णय गरेको छ ।
जुम मिटिङमा प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाली सेनाका मेजर, राजनीतिक दलका प्रमुख र ११ वटै स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेको थियो ।
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १९:३९ मा प्रकाशित































