जेठ ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न दिएको समयसीमा सकिएको छ ।
राष्ट्रपतिले आव्हान गरेको समय सीमाभित्र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसद गरि १५३ सांसदको समर्थन आफुँलाई रहेको दाबी पत्र राष्ट्रपति कार्यालयमा पेश गरेका छन् । उनले शुक्रबार दिउँसो विपक्षी गठबन्धनका नेताहरु पुग्नुभन्दा अगावै आफ्नो दाबी पेश गरेका थिए ।
यता कांग्रेस सभापति देउवाले विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२, नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका २६ र राष्ट्रिय जनमोर्चाका एक सांसद गरि १४९ सांसदको समर्थनसहित दाबी गरेका छन् ।
ओली र देउवाले गरेको दाबीमा एमाले र जसपाका सांसदहरु दुवै तर्फ भएको कारण कुनलाई आधिकारिक मान्ने अन्यौंल छ । देउवाले सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् भने ओलीले एमाले र जसपाको संसदीय दलको निर्णय बुझाएका छन् ।
वि.सं.२०७८ जेठ ७ शुक्रवार १७:३६ मा प्रकाशित






























