७ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १७७ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०२४ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी २२,३५३ पिसीआर र ३,८७३ ऐन्टिजन गरी २३,२२६ नमुना परीक्षणमा ८,६०७ जना नयाँ संक्रमित थपिएका छन् ।
आज भक्तपुरमा २९५, ललितपुरमा ४०० र काठमाडौंमा १७५२ गरी जम्मा २४४७ संक्रमित थपिएका छन् । आज थपिएका ८,६०७ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी ७,८९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७८९० जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।
त्यसैगरी हाल देशैभरी १ लाख १६ हजार १५२ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७,६९७ जना र होम आइसोलेशनमा १ लाख ८ हजार ४९५ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १७१६ जना र भेन्टिलेटरमा ५११ जना उपचाररत छन् । विहीबारको तुलनामा शुक्रबार आइसीयुमा रहनेको संख्या घटेको छ भने भेन्टिलेटरमा रहनेको संख्या बढेको छ ।
त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २८ लाख ७८ हजार १४६ वटा नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म पहिलो २१ लाख १३ हजार ८० जनाले पहिलो चरणको खोप लिइसकेका छन् भने दोस्रो चरणको खोप लगाउनेको संख्या ४ लाख ८३ हजार ६३१ पुगेको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९० जनाको मृत्यु, ८ हजार ३०५ संक्रमित
वि.सं.२०७८ जेठ ७ शुक्रवार १७:५९ मा प्रकाशित






























