९ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु अर्को पार्टी खोल्न बाध्य भएको बताएका छन् ।
वरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई त्यस्तै परिस्थितिमा पुर्याएर नयाँ पार्टी खोल्न बाध्य पारेको ईकान्तिपुरको प्रतिक्रियामा भनेका छन् ।
उनले शनिबारको स्थायी कमिटीको बैठकमा अध्यक्ष ओलीको पछिल्ला असंबैधानिक कदमकाविरुद्ध राजनीतिक र कानुनी दुवै लडाई लड्ने निर्णय गरेको बताउँदै नयाँ पार्टी खोल्ने निर्णय स्वभाविक रहेको समेत बताएका छन् ।
नेता नेपालले अध्यक्ष ओलीले आफूहरुलाई वेवास्ता गर्दै दक्षिणपन्थीसँग साँठगाँठ गरेर एकलौटी गरेको आरोप लगाउँदै विदेशीसँग याचना गरेको समेत बताएका छन् ।
पार्टी एकताका लागि गठन भएको कार्यदलका विषयमा प्रश्न गर्दा उनले भनेका छन्– त्यो कार्यदलको औचित्य उहाँले सिध्याइदिनुभयो । यत्रो कार्यदल बनेको छ, सरसल्लाह गर्नुपर्दैन रु सोध्दै नसोधी संसद् विघटन गर्ने रु केही सल्लाह गर्नुपर्दैन रु अध्यादेश ल्याउनुअघि केही सल्लाह गर्नुपर्दैन ?’
शुक्रबार मध्यराति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपनि विद्यादेवि भण्डारीले प्रतिनिधिसभाको विघटन गरेपछि माधव एमालेको माधव नेपाल समूहले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका विपक्षी दलको गठबन्धनलाई साथ दिँदै प्रधानमन्त्री ओलीका सबैखाले असंबैधानिक कदमविरुद्ध लड्ने घोषणा गरिसकेको छ ।
सोहि गठबन्धनले आज संसद विघटनविरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने तयारी गर्दै सबै पार्टीले आफ्ना सांसदहरुलाई नागरिकता लिएर संसद भवन उपस्थित हुन निर्देशन दिएका छन् ।
वि.सं.२०७८ जेठ ९ आइतवार ०९:०८ मा प्रकाशित






























