back
CTIZAN AD

नागढुङ्गा सुरुङमार्गका ३२ कामदारमा सङ्क्रमण पुष्टि

वि.सं.२०७८ जेठ १२ बुधवार

642 

shares

१२ जेठ, काठमाडौँ । नागढुङ्गास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ ।

निर्माणस्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै आइसोलेशन क्याम्पमा राखेर अरू नियमित काम गरिरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ।

सङ्क्रमितमध्ये अहिलेसम्म एकलाई अस्पताल लगिएको भए पनि अरू सबै निर्माणस्थलमा रहेको छुट्टै क्याम्पमा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, “अस्पताल गएका व्यक्ति पनि ठीक भईसकेका छन् ।”

नेपालमा दोस्रो भेरियन्टसहितको सङ्क्रमण शुरु भएसँगै जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकामा तीन साता पहिले निषेधाज्ञा लागू गरेको थियो । निषेधाज्ञामा पनि क्याम्पमा बसेर गर्न सकिने विकास निर्माणलाई निरन्तरता दिइने सरकारको निर्णयका आधारमा सो सुरुङमार्गको निर्माण सामान्य अवस्थामा जसरी नै पुनः सञ्चालन थियो ।

देशभर सङ्क्रमण फैलिरहेकाले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निर्माण अघि बढाउँदै आइएको आयोजनाले जनाएको छ । आयोजनाले क्याम्पभित्र कुनै व्यक्तिमा सङ्क्रमण देखिइहालेमा तुरुन्त अरूबाट छुट्टाएर राखिने व्यवस्था मिलाएको छ । उनले भने, “सङ्क्रमित भएका व्यक्तिको स्वास्थ्यमा समस्या आइहालेमा अस्पताल लगिनेछ ।”

क्याम्पभित्र सङ्क्रमित देखिएसँगै यहाँ कार्यरत कामदार निर्माणस्थल छाड्न थालेको आयोजनाले जनाएको छ । अघिल्लो सातासम्म ६०० भन्दा बढी कार्यरत रहेकामा अहिले यहाँ ३०० छन् । झण्डै आधा कामदार निर्माणस्थल छाडिसकेको प्रमुख शाक्यले बताए। तत्काल भएकै कामदारबाट निर्माणलाई निरन्तरता दिइने उनले बताए ।

निर्माणस्थलमा सङ्क्रमण नियन्त्रण गर्न सकियो भने यही रूपमा काम अघि बढाइने आयोजनाले जनाएको छ । अझै फैलिएर गयो भने निर्माणस्थल बन्द गरिने प्रमुख शाक्यले बताए । अहिलेसम्म निर्माणस्थलभित्र व्यवस्थापन गर्न सकिने अवस्था भएकाले काम भइरहेको उनले बताए।

अबको केही समयसम्म कम सङ्ख्यामा कामदार राखेर काम गरिनेछ । यो समयमा ‘पर्ख र हेर’ गरेर त्यसपछि अवस्था हेरेर अघि बढिने उनले बताए। काम प्रगतिका नाममा स्वास्थ्य सुरक्षासँग चुनौती नगरिने उनका भनाइ छ । उनले भने, “अझै धेरै सङ्ख्यामा सङ्क्रमित हुँदा काम गर्न रोकिनेछ ।”

अहिले आयोजनाले कुनै पनि व्यक्तिलाई सङ्क्रमणको शङ्का लाग्नासाथ कोभिड जाँच गराउने गरेको छ । सुपरिवेक्षण गर्नेलाई भित्रै बस्ने व्यवस्था मिलाइएको प्रमुख शाक्यले बताए। आवश्यक सङ्ख्यामा जनशक्ति भित्रै रहेकाले सचेत भएर काम गरिरहेको उनले बताए। कामदारको मनमा त्रास भएकै कारण आधाले काम छाडेर फर्किसकेका छन् ।

पछिल्लो अवस्थामा जतिसक्दो काम अघि बढाएर आठ–१० दिन पछि निर्माणस्थलको अवस्था हेरेर निर्णय गरिने उनले बताए। उनका अनुसार निर्माणस्थलको स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिएको छ । उनले भने, “अब कोभिड फैलन क्रम कम भएमा त्यसका आधारमा अघि बढिनेछ, सङ्क्रमण अझै फैलिएमा काम रोक्नुपर्छ ।”

सङ्क्रमणकै कारण अहिले आयोजनाको पूर्वतर्फ अवरोध पुगेको आयोजनाले जनाएको छ । सुरुङमार्गमा काम भने भइरहेको छ । मुख्य सुरुङमा अहिले पनि दुई चरणमा गरी चौबिसै घण्टा काम भइरहेको प्रमुख शाक्यले बताए । सहायक सुरुङमा दिनमा काम भए पनि रातको समयमा काम रोकिएको छ । पूर्वपट्टि पहुँच मार्ग बनाउने काम रोकिएको र पश्चिमतर्फ काम भइरहेको आयोजनाले जनाएको छ ।

जापान सरकारको ‘सफ्ट लोन’ मा ४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङ्गा र माटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायत स्टल हुने बताइएको छ ।
रासस

वि.सं.२०७८ जेठ १२ बुधवार १५:३६ मा प्रकाशित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २००...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएकबे...

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण...

फुसको छानोबाट सुरक्षित आवाससम्म

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा...