जेठ १८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका छन् । उनले उपत्यकामा उपलब्ध सदस्यहरुलाई बैठकमा बोलाएको जसपाको प्रचार विभागले जनाएको छ ।
बताइएअनुसार बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरसहित उनी पक्षका नेताहरुलाई कारबाही गर्ने निर्णय गर्न सक्नेछन् । अध्यक्ष यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई यसअघि गत जेठ १५ २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेका थिए । तर तीन दिन बित्दासम्म स्पष्टीकरण जवाफ नआएपछि निर्णय लिन बैठक बोलाएका हुन् ।
गत जेठ ८ मा बसेको कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी सम्पूर्णं अधिकार अध्यक्ष यादवलाई दिएको थियो । यसअघि यादव पक्षले सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको थियो ।
ठाकुर समूह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने अन्तिम तयारीमा छ । सोमबार मात्रै ओली र ठाकुर समूहबीच मन्त्रालय बाँडफाँडबारे सहमती भएको थियो ।
कार्यकारिकारिणीमा बहुमतमा छन् उपेन्द्र
जसपामा कार्यकारिणी समितिलाई सबैभन्दा शक्तिशाली इकाईको रुपमा लिइन्छ । जसमा उपेन्द्र पक्ष बहुमतमा छ ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३१ जना सदस्य देखिएका छन् । जसमा ठाकुर समूहतिर जम्मा ३८ प्रतिशत अर्थात् २० जनामात्रै देखिएका छन् ।
पार्टी एकता गर्दा तत्कालिन समय पूर्वराजपा पक्षमा २६ र समाजवादी पक्षमा २५ सदस्य थिए । तर पछिल्लो विभाजनमा पूर्वराजपा समूहका महेन्द्रनारायण यादवसहित ६ जना यादव पक्षमा जोडिएका थिए ।
वि.सं.२०७८ जेठ १८ मंगलवार १३:४८ मा प्रकाशित






























