जेठ २१, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजनको असर प्रदेश तहमा पनि देखिन थालेको छ । केन्द्रमा औपचारिक विभाजनको घोषणा हुनै लागेको समय प्रदेश २ मा सरकार परिवर्तनको खेलसमेत हुन थालेको छ ।
प्रदेशमा एकल बहुमत रहेको जसपा विभाजित बनेसँगै विशेषतः विपक्षी गठबन्धनको सहयोगमा सरकार टिकाउने कसरत सुरु भएको छ । जसको लागि विपक्षी गठबन्धनभित्र छलफल पनि सुरु भएको छ ।
प्रदेशमा आफ्नो नेतृत्वमा विपक्षी गठबन्धनको सरकार टिकाइरहने योजनामा अहिले उपेन्द्र यादव पक्ष लागेको छ । उसले विपक्षी गठबन्धनका मुख्य दलहरु कांग्रेस र माओवादीको सहयोग खोजेको छ ।
गठबन्धनमा सहमती भएमा प्रदेशमा सरकार टिकाउन यादव समूहलाई समस्या पर्नेछैन् ।
तर, कांग्रेसको चाहना आफ्नै नेतृत्व
पार्टी विभाजनसँगै प्रदेश २ को सत्ता समीकरणमा जसपाको उपेन्द्र यादव समूहले विपक्षी गठबन्धनको साथ खोजेको छ । जसमा माओवादी केन्द्र पनि सहमत देखिएको छ । तर, कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार गठनको चाहना राखेको छ ।
शुक्रबार जसपा अध्यक्ष उपेन्द्र यादव र कांग्रेस उपसभापति विमलेन्द्र निधिबीच भएको छलफलमा निधिले मुख्यमन्त्री लालबाबु राउतको विकल्प खोज्नुपर्ने प्रस्ताव गरेका थिए । उनले प्रदेश संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउन सहयोग गर्नुपर्ने प्रस्ताव राखेको कुरा बाहिरिएको छ ।
तर, प्रदेशमा ठुलो शक्तिको हैसियतले आफ्नो पक्षलाई सहयोग गर्नुपर्ने जिकिर उपेन्द्रको छ । यसअघि शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने पहलमा जसपाको उपेन्द्र यादव समूहले पनि साथ दिएको थियो । यादव समूहले केन्द्रमा आफुँले सहयोग गरेको भन्दै प्रदेशमा आफुँलाई सहयोग गर्नुपर्ने बताएको छ ।
यादव समूह अनुकुल छ अंकगणित
१०४ (माओवादी केन्द्रका ३ सांसदलाई कारबाही पछि) सदस्यीय प्रदेशसभामा जसपासँग मात्रै ५५ सांसद छन् । जसमा ३० सांसद उपेन्द्र यादव समूह र २५ सांसद महन्थ ठाकुर समूहमा छन् ।
जहाँ नेकपा (एमाले)का २१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ७ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । विभाजित एमालेको बहुमत पक्ष अर्थात् २१ मध्ये १३ सांसद माधव पक्षमा छन् ।
यस्तोमा जसपाको बहुमत पक्षलाई सरकार टिकाउन सहज छ । यदि विपक्षी गठबन्धन (कांग्रेस र माओवादी)को मात्रै साथ पाएमा पनि बहुमत जुटाउन समस्या पर्नेछैन् । जसपाको बहुमत समूहलाई कांग्रेस र माओवादीले साथ दिएमा गठबन्धनसँग बहुमतभन्दा अधिक ५६ सांसद हुनेछन् ।
सम्बन्धित समाचार
वि.सं.२०७८ जेठ २१ शुक्रवार १३:५२ मा प्रकाशित






























