म गीत संगितलाई हृदयको आहाराको रुपमा लिन्छु । जसरी मिठो मिष्ठान खादाँ जिव्रो मार्फत हामि खुसि हुन्छौ राम्रो गित सुन्दा कान मार्फत सिधा मन सँग सम्पर्क हुन्छ । कुनै कुनै गीतले त मुटु कलेजो नै निचोटेर बाहिर ल्याइदिए जस्तो अनुभव हुन्छ । एक अब्बल गीत बन्नको लागि भाव, प्रस्तुति र संगित सबैको राम्रो मिश्रण आवश्यक हुन्छ ।
गतबर्ष लकडाउनमा बस्दा हामी धेरैले आफ्नो गला त्यति मिठो नभयपनि गाउने कोसिस भयो। कतिपय लुकेका प्रतिभाहरु पनि देख्न सुन्न पाइयो । स्थापित कलाकारहरुले पनि अनलाइन मार्फत गाना, बजाएर आफ्ना श्रोताहरुलाई मनोरञ्जन दिने प्रयास गर्यो । यो अवधिमा थुप्रै नयाँ गित भिडियो सहित सार्बजनिक भए । त्यति बेला विशेष गरि केहि गीतले मेरो ध्यान खिच्यो । राजनितिमा सँगसँगै हिडेका आहुतिले लेख्नु भएको ‘ तिमिले थुनेको नर्क लाइ’ वि.वि अनुरागिको संगित र स्वरमा सारै मार्मिक छ । छुवाछुतको हजारौ बर्ष पुरानो परम्परा अझै कायम रहेको हाम्रो परिवेशलाई राम्ररी प्रस्तुत गरिएको छ । इमान भएको मान्छे मानलाई सन्चै छ कि विरामी ? कडा प्रश्न सोधिएको छ ।
केहि समय अगाडि अमृत क्षेत्रीले गाउनु भयको आफ्नै रचना र संगितको गीत ‘जहाजै चढेर’, धेरैले मन पराय पछि नारी स्वरमा मेलिना राई सहित गाईएको गीतमा प्रख्यात अभिनेता दयाहंग राई समेतको रंगमंचमा प्रश्तुति गरिएको भिडियो आयो । व्यक्तीगत रुपमा चिनजान भएको अमृत क्षेत्रिले विदेशमा आफ्ना मान्छेहरु हुनेको पिडालाई कलात्मक ढगंले प्रस्तुत गर्न सफल भएका छन् ।
पहिला कहिल्यै नाम नसुनेका भुपु पाण्डे र मेलीना मैनालीको छोटो छ जिन्दगी फोटो खिचेर राख वोल को गीतले सारै मन छोयो । नारायण गोपालको रचना शब्द अब्बल छ । जाउ उमेर वेचि सपना किनेर ल्याउँ, धनको गरेर आशा मनको ग¥यौ तमाशा, बरु फर्कि आउ रित्तै, मधुमास यो नवित्दै भनेर श्रीमतीले पुकार गर्ने उता श्रीमानले तिर्खाहरु संगाल्दै पानी बनाउदै छु, आफै जलेर हीरा खानी बनाउदै छु, तव सम्म दिनको चाह दिलमै मिचेर राख छिटै फर्कि आउछु म मुटु थिचेर राख, भन्दा आफ्नो सहित धेरैको परदेशि जीवन सम्झीन पुगे ।
जीवनको धेरै समय नेपाल हुदाँ गाउने नाच्ने मै वित्यो । त्यति वेला गाइने गीतहरुमा पनि धेरैजसो विदेशवाट फर्क विदेश जान हुदैन भन्ने हुन्थ्यो । खुशिराम पाख्रिनको ‘विदेश जाने दाइ सम्झी तिमिलाई पारी वनमा न्याउली रुन्छ तिम्रो गित गाई’ भनौ वा सिम्मा गिति नाटकको भाउजुले भन्थीन ‘खसमलाई मेरो यो सामाचार पु¥याइदेउ होटेलमा छन कि दरबानमा छन् कि घर फर्क भनिदेउ! धेरै पटक गाइयो। त्यति बेला आफू विदेश आइन्छ भन्ने कल्पना पनि थिएन । पछि चार बर्ष जति एक्लै विदेशमा वस्दाको पिडा आफैले भोग्नु प¥यो ।
स्वर सम्राट नारायण गोपालले ‘मालती मंगले’ गीति नाटकमा गाउनु भएको गीत’आज भोली दुख्दैन गोडा, मैल काडा टेके पनि, रुन्छ मन चिरिन्छ छाति जोडि ढुकुर देखेपनिु धेरै पटक धेरै ठाँउमा गाएँ। शायद अहिले सम्म सबै भन्दा वढि यहि गित गाइयो होला । नरेन्द्र प्यासिको हार्मोनियमको साथमा पुष्प नेपालीको जिवन हाम्रो वित्ने हो कि विदेशमै वसि पनि गाइयो यतिको कार्यक्रममा। रेलको अनुहारनै नदेख्दा पाख्रिन दाईको ‘टाढैवाट चिनियो ढाका टोपी लाउनेलाइ देख्दैमा माया लाग्यो नि देशै छाडि हिड्ने’ लाई अर्कैको देशैमा रेलको टेसनैमा भन्ने वोलको पिडा यहाँको स्टेसनहरुमा महसुस गरीयो । मणि थापाले लेख्नु भएको जीवन शर्माले गाउनु भएको ‘फोकल्याण्डको टापु वाट जङ्गलको विचवाट लेखि रहेछु चिठि तिमिलाई लडाइको मैदानवाट’ भन्ने गित नेपालमा धेरै पटक धेरै ठाउँमा प्रस्तुत गरियो । यहाँ प्राय जहा गएपनि भेटिने तिनै गोर्खा सेनाहरु मध्ये केहीबाट त्यो लडाईको प्रत्यक्ष्य भोगाइ सुन्ने मौका पनि मिल्यो ।
काडमान्डौमा कलेज पढ्न आएपछि प्राय जसो विद्यार्थि युनियनको कायक्रममा प्रतिज्ञा परिवारले प्रस्तुत गर्ने गरेको खुशीराम पाख्रिन दाइकै अर्काको भारी वोकेर हामि उकाली ओराली वोलको गीतमा उर्मिला श्रेष्ठ र दिपक मर्हजनको अपेराले सारै मन रुवाएको थियो। त्यो गित गुनगुनाउने त गर्थे तर त्यति राम्रो आउदैनथ्यो । सायद ४१ सालको चैत २४ गतेको नेपाल वन्दको कार्यक्रमको अघिल्लो रातमा हुनुपर्छ, हामी २०/२५ जनाको समूह राति ताहचल क्याम्पसकाे छात्रावासमा बसेर विहान सबेरै जुलुस निकाल्ने तयारीमा थियौ। प्रहरीले थाहा पाएर राती देखिनै पूरा छात्रावास घेरा हालेर वाहिर जान नपाइने भयो । त्यहि समूहमा दिपक मर्हजन पनि भएकाले त्यो गीत सिक्न पाइयो । पछि चौतारामा मित्र दुर्गामान श्रेष्ठलाई त्यहि गीतमा अपेरा नाच्न सिकाइयो गित म आफै गाउथे । त्यो नृत्य पनि सबैले धेरै रुचायो धेरै ठाउमा प्रदर्शन भयो। दुर्गामानले आफ्नो व्यवसायको नामनै भरिया आर्ट राख्यो । अहिले सम्म पनि त्यहि व्यवसाय चलाउदै छन् । आफ्नो नामले भन्दा भरिया भनेर धेरैले चिन्छन उनलाई।
त्रिचन्द्र कलेजमा स्ववियु चुनावमै रक्तिम परिवारका जिवन शर्माले गाउनु भएको ‘म मरेपनि मलाई सम्झी सम्झी नरुनु है आमा म त देशको लागि लड्दै छु, सङ्घर्षको मैदानमा बन्दुक वोकि! बोलको गितले पहिलो पटक धेरै प्रभावित पारेको थियो । त्यस्तै स्व ध्रुब ज्ञवालीले गाउनु भएको ‘क्रान्तिकारी नेपाललाई मुक्त बनाइदेउ’ वोलको गीत जन युद्ध तयारीको क्रममा हामीले धेरै गायौँ ।
९/१० कक्षा मा अध्ययन गर्दा कक्षाका प्राय सबै साथीहरु दिउसो छुट्टीमा अथवा शिक्षक नआउँदा टेवल ठोकेर धेरैनै गीत गायौ। त्यतिवेला नारायण गोपाल, प्रेम ध्वज, कुमार बस्नेतहरुको चलेका गितहरु गाईन्थ्यो । मैले पहिलो पटक स्टेजमा बसाइ नाटक प्रदर्शन गर्दा बसाइ हिड्नेको ताँतीले बस्नेको मनलाई रुवाउछ, लाखौँको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ भन्ने गित गाएको थिएँ । पुरानो बजारमा प्रदर्शन गरेको त्यस नाटकको मुख्य भूमिकामा बिल बहादुर श्रेष्ठ सरले अभिनय गर्नु भएको थियो । पछि दोलखा गुमुखोलामा नेपाल बैंकको जे.टि.ए जागिर खाए पछि त १८ घन्टा रेडियो सुन्ने वानि वस्न थाल्यो । प्राय राति सवैजना बसेर लोकदोहरी गीत मादल बजाउदै अवेलासम्म गाउने नाच्ने गर्थ्यौ ।
जयन्द्र दाइ अमेरीकावाट फकिनू हुँदाँ त्यति वेला खुव चल्तीमा आएको वाकम्यान ल्याउनु भएको थियो । हवाइमा सँगै वसेका अम्वर गुरुङको छोरा किशोर गुरुङले तयार पारेको पिताको गीत एउटा क्यासेटमा भरेर ल्याउनु भएको रहेछ । रेडीयोमा वजी सकेका थिएनन ति गीतहरु। आठ ओटा मध्ये एउटा गीतले भने गज्जवले मन खाएको थियो । चरीकोटबाट गुमु खोला करिब चार पाँच घन्टा हिड्न पर्थ्यो । उकाली ओराली सम्म फाँट, खोला, पुल, चौतारी, त्यही गाँउ, घर सदियौँ देखी थिए होलान । पछि सम्म पनि रहने छन् तर त्यो बाटोमा हिड्ने मजस्ता धेरै सायद अव कहिल्यै फर्किने छैनन् । यात्रा त्यहि वाटो त्यही बाटो कुन यात्री होला भोलि ? पहाड मधेश भन्ञ्याङ त्यहि वास वस्ने परदेशी हुन्न त्यही ! यो गीत बाटो काट्ने क्रममा धेरै पटक सुनियो । अहिले पनि कतै नयाँ ठाऊ गइयो भने यो गीत युटुबमा सुन्ने गरेको छु ।
रेडियो नेपाल भित्र पस्ने रहर धेरै हुदा हुदै पनि पुरा भएको थिएन। खै कसरी हो एक दिन जाने मौका मिल्यो । रेकर्डीङ गर्ने कोठामा अम्वर गुरुङ ले नै गीत गाउदै हुनुहुन्थ्यो। यो जीन्दगीको के कुरा, तिम्रो रुपको पनि के कुरा, मेरो गीतको पनि के कुरा अहिले पनि जिन्दगीलाई फर्केर सम्झीदा अनायासै यो गीत निस्कीन्छ ।
जीवनमा पहिलो पल्ट कन्ठ गरेका दुई हिन्दी गीतहरु अहिले पनि गुनगुनाउने गर्छु । अनारकलीको ‘ए जीन्दगी उसिकी हे जो किसिका हो गया’ र सल्मा आगाले निकाहा फिल्ममा गाएको ‘दिलकी अरमा आँशु ओ मे वहे गए, हम वफा कर के भी तनहा रहे गए’ अति सुन्दर लाग्छ । पछि गयर गजल पनि मन पर्न थाल्यो । जगजीत सिंहको गीत नसुनी त अहिले पनि सुत्न गाह्रो हुन्छ ।
रेन्टुरेण्ट वन्द भए पछि अलि टाढै फेरी केही गर्न पर्छ कि भनेर एक्लै जाँदै थिए । वाटोमा थुप्रै सि–डि हरु सुन्दै गए , धेरै सुनियो । त्यही विचमा मैले पहिला धेरै पटक सुनिसकेको एउटा गीतले मेरो ध्यान खिच्यो र म गाडि रोक्न पर्ने अवश्थामा नै पुगे । मलाइ त्यतिखेर लागेको कुरा तुरुन्तै फेसबुकमा यसरी लेखे ‘खाना शरीरको आहारा भए जस्तै राम्रो गित हृदयको आहारा हो ।’
त्यो गीत थियो जगजित सिंहको ‘हम सफर बनके हम, साथ हे आज भी, फिर भी हे ए सफर अजनवि अजनवि’ गीतको एक अन्तरामा ूकिस को क्या मालुम था दिन ए भि आयगि, मौसमोके तरह दिन बदल जाएगे ! हिजो सम्झिदा आज बिस्वाश लाग्दैन ।
करिब ५ वर्षको उमेरबाट मैले गीत गाउन थालेको थिए । मैले पहिलो गाएको गित ‘देउलाली उकाली चढेल विजयपुल खोला तलेल कान्छी लाई बोलाउदा बोल्दैन पल्न पिल पल्यो’ भन्ने थियो । बच्चाहरुले र उच्चारण गर्न नसक्दा ल भन्ने गर्छन । त्यो मैले पनि गरे । ७ वर्षको उमेरमा साखुमा पहिलो पटक बाहिर ठुलो पर्दामा डकुमेन्ट्री जसरी सार्वजनिक रुपमा देखाइएको फिल्म मनको बाँधको गीत ‘फूलको ठुङ्गा बगेर गयो गंगाको पानिमा कहिले भेट होला है राजै यो जिन्दगानीमा’ पनि पछि सम्म धेरै सुनियो ।
लालबहादुर खाति हामि नजिकै गाउँको भएर पनि हुन पर्छ, ‘हे दिदि पोइ प¥यो काले ,अरु कालो रेलको धुवाले म त कालो छाता हजुर ओड्दै नओड्नाले’, उनको गित सुन्ने गाउने गरिन्थ्यो । स्कुलमा म प्राय केटि भएर नाच्थे। धेरै पटक विभिन्न मंचहरुमा नाचे। एक पटक अंञ्चल स्तरीय नृत्य प्रतियोगितामा उकालिमा पनि हजुर मोटर जादो रैछ, भन्ने गीतमा नाचेको थिए रामकृष्ण संग। पछि कलेजस्तरीय नृत्य प्रतियोगितामा कहिले माया पोखरामा कहिले माया खैरेनि बोलको गीतमा हामि ४ जोडि नाचेका थियौ । म कान्छो थिएँ सबैले कान्छा भन्थे। जेठो चाही राजु साह थिए उनि पछि नेपाली चलचित्रमा नृत्य निर्देशकको रुपमा स्थापित भए । त्यहि बेला भेटिएको माहिला नाम बिर्से उनी राम थापाको नजिकैको भाई थिए । राम थापाको अति नै सफल आँखाको नीद खोसी लाने, हृदयको तरंग छेडि लाने गीत कण्ठै गरेर पछि सम्म गाइयो । शम्भु राईको चलेछ वतास सुस्तरी पनि धेरै गाईने गीत मध्य एक थियो ।
आनन्ददाइ महाराज गंजमा हेल्थ असिस्टेन्टको अध्ययन गर्नु हुदा बेला वखत म पनि पुगेको थिएँ । उँहाहरु गिटार बजाएर गीत गाउनु हुन्थ्यो । त्यति बेला सुनेको ‘पवन गोलेको हाँवासँग वहु भन्छ’ वोलको गीत मलाई सारै मन परेको थियो । त्यति बेला अटो ग्राफ भर्ने निकै चलन थियो । खै कसको हो हेक्का भएन एउटा अटोमा यस्तो लेखिएको थियो ‘ मेरो नयना फुटेको ऐना, तर पनि हेर्न खाँचो छैन’ लेखिएको खेदिएकोले त्यसैलाई गुनगुनाउन पनि थालियो ।
यो कोभिडको महामारीमा सायद लामो फिल्महरु निर्माण गर्न असहज हुने हुदा सामान्य गितहरु भन्दा अलि लामो सविस्तार सहितको गीत धेरै नै बन्न थालेको छ । विविध विषयलाई छोटकरीमा प्रभावकारी ढंगले प्रस्तुत गर्न सकिने माध्यम नै गीत संगित हो । समयको गति सँगै गीत संगित पनि परिमार्जीत हुदै जानेछ। यहि प्रसंगमा सन् १९८२ जुन २१ देखि फ्रान्सबाट शुरु भएको अन्तरास्ट्रिय संगीत दिबसको उपलक्ष्यमा क्यति प्राप्त गायक बब मार्लेको यो भनाइ सहित सम्पूर्णमा हार्दिक शुभकामना ।
‘संगीतको बारेमा एउटा राम्रो कुरा, जब त्यसले हिर्काउँदछ, कुनै पीडा महसुस हुदैन’
वि.सं.२०७८ असार ७ सोमवार २२:४४ मा प्रकाशित






























