२६ जुन, अमेरिका । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले किरात राईहरुको महान चाड उभौली साकेला २०२१ र किरात यले संवत ५०८१ को उपलक्ष्यमा भर्चुअल माध्यमद्वारा संसारभरीको किराती राईहरु बीच शुभकामना आदान प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुखअतिथि रहेका सिक्किमका पूर्व मुख्यमन्त्री डा.पवन चाम्लिङ्गले किरातीहरु प्रकृति पुजक भएकोले मानव सभ्यताको शुरुवात किरातीहरुको पुर्खाले गरेको बताउँदै सबैले उक्त कुरा विश्व सामु राख्नुपर्ने बताए ।
डा चाम्लिङ्गले विश्वले सामना गरिरहेको ग्लोबल वार्मिंग, क्लाइमेट चेन्जले मानव अस्तित्व संकटमा परीरहेको बताउँदै प्रकृतिको बिरुद्धमा मानव समुदाय लागेको हुनाले पछिल्ला समय धेरै संकट आएको बताए ।

‘हामी किरातहरुको धर्म, संस्कार, संस्कृती अनुसार प्रकृतीको पूजा गर्ने र यसको संरक्षण गर्ने भएकोले यसले नै मानव सभ्यताको बचावट गर्न सक्छ । यसलाई संसारकै मानिसले अनुशरण गर्नु जरुरी छ ।’ उनले भने ।
किरात राईहरुको विविधतालाई एकता गर्नु अपरिहार्य रहेको र त्यसको लागि आफू जुनसुकै समय पनि सहकार्य गर्नु तयार रहेको कुरा पनि चाम्लिङले बताए ।
कार्यक्रमका बिशेष अतिथी संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत अमृत राईले साकेला अब अन्तरराष्ट्रियकरण भैसकेको बताउँदै यो गर्वको बिषय रहेको हुनाले आफ्नो भाषा संस्कार संस्कृतिलाई बिश्वभर फैलाउनु आजको आवस्यकता रहेको बताए ।
त्यस्तै अर्का बिशेष अतिथी जर्मनस्थित नेपालका पूर्वराजदूत डा. नोबल किशोर राईले साकेलाको उपलक्ष्यमा शुभ कामना दिए ।
अर्का बिशेष अतिथि किरात राई यायोख्खा केन्द्रिय समितिको सभापति दिवश राईले किरात राईहरुको २८,३० भाषा रहेको बताउँदै संसारमा एक जातीको यतिधेरै भाषा भएको अन्य जातीमा नभएको बताए । ‘हाम्रा पुर्खाहरुले सम्पदा र सभ्यताको विकास गरे, अहिलेको पुस्ताले यसलाई संरक्षण गर्नु जरुरी छ,’ उनले भने, ‘यायोखाले संसारभरी तथा नेपालमा पनि गाउँ–गाउँमा संजाल फैलाएको छ । यसले सामाजिक रुपान्तरण र पहिचानको आन्दोलनलाई सघाउ पुरयाएको छ ।’

कार्यक्रमको प्रमुख वक्ता गायक संगीतकार तथा किराती संस्कृतीविद जितेन राईले नेपालका राईहरुलाई दुःख पर्दा अमेरिकाको राई हरुलाई दुख्नुपर्ने बताउँदै सिक्किमका राईहरुले पनि मल्हम पट्टि गर्नुपर्ने बताए ।
संसारभरीको राईहरु जोडिनु पर्ने बताउँदै संस्कार संस्कृतिले रसायनको काम गर्ने साकेला सिली मुन्धुम रिसियाको बारेमा लामो ब्याख्या समेत गरेका थिए ।
कार्यक्रममा बिशेष अतिथी रहेका फिफ्ना अध्यक्ष लोक चेम्जोङ्गले शुभकामना मन्तब्य दिदैं पहिचानको लागी सम्पूर्ण आदिवाशी जनजातीहरु एकतावद्द हुन अपरिहार्य भएको कुरा बताए ।
यसरि नै अर्का वक्ता अर्गनाइजेशनका संस्थापक अध्यक्ष शिब कुमार राईले, सन् २००३ सालतिर अमेरिकाको न्युजर्सी राज्यमा एक राईनी चेलको मृत्यु भएको तर राईहरुलाई यसबारे थाहा नहुँदा शेर्पा समुदायले दाहसंस्कार गरेको खबर आएपछि अमेरिकाभरीको राईहरुलाई संगठित गरि संस्था स्थापना गरिएको स्मरण गरे ।
अर्का वक्ता अर्गनाइजेशनका पूर्वअध्यक्ष बिष्णु राईले किराती राईहरु अहिले संसारको हरेक कुना पुगेको रं अस्तित्व र पहिचानको खोजी गरिरहेको सन्दर्भमा बिविधतामा एकता राईहरुको बिशेषता मूल मन्त्र बन्नुपर्ने बताए ।
अर्गनाइजेशनका पूर्वसभापति मिलन राईले संसारभरीको राईहरुको एकताका लागि अन्तरराष्ट्रिय नेटवर्किंग आवस्यकता रहेको बताउँदै त्यसको लागि ग्लोबल अर्गनाइजेसन बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा जनक राई महासचिव किराया केन्द्रिय समिति, पुर्व प्रहरी आइजी पी दुर्ज कुमार राई, पुर्व एस एस पी तथा अधिवक्ता किवांग हाङ्ग राई, अभिनेता दया हाङ्ग राई, चलचित्र निर्माता निर्देशक युवराज राई लगायतका व्यक्तित्वहरुले आफ्नो मन्तव्य राखेका थिए ।
यसरी नै किरात राई यायोख्खाका अन्य देश हरुको प्रतिनिधिहरु कल्पना राई युके ,मिलन राई बहराइन, मन्जित राई कुवेत, बिमल राई, एक राज राई कतार, कुमार साङ्गपाङ्ग राई इजरायल, चन्द्र सांगपाङ्ग राई यु ए ई, रबिन थुलुङ्ग साउदी अरब, भिम राई मकाउ, यादब राई थाईल्याण्ड र पदम राई कोरिया लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै ज्ञान किराती बान्तवा खिम नेपाल, सक्कल बहादुर राई किरात रदु नाछिरिंग साखाम नेपाल, राम राई, भारती राई किरात राई समाज अमेरिका, बिनिता खम्बु किरात राई खम्बु राई सास्कृतिक संस्थान दार्जिलिङ्ग भारत, मोहन दुङ्गमाली प्रमुख संरक्षक, पारुहांग साप्टेन माङ्गखिम सिक्किम भारत, निर्कु धन राई थुलुङ्ग राई संस्कृति प्रतिष्ठान नेपाल, बीबी बोक्दुंग राई सिक्किम भारत, योगेन्द्र राई, शशिचन्द्र राई र संजय राई किरात खम्बु राई सोसाइटी अस्ट्रेलिया, भूपराज राई पूर्वउपसचिव नेपाल, कुमारी कमला राई प्रधान अध्यापक जन कल्याण माबि काठमान्डू, कबि राज बान्तवा युनाइटेड एकेडेमी ललितपुर नेपाल ह पनि कार्यक्रममा सहभागी रहेका थिए ।
उक्त कार्यक्रमको स्वागत भाषण साकेला कार्यक्रम २०२१ को संयोजक तथा अर्गनाइजेसनका उपाध्यक्ष जी एस राईले गरेका थिए भने सभा बिसर्जन गर्नु गर्दै सभाकी अध्यक्ष मुना राईले सबैलाई धन्यवाद दिएकी थिइन् । दुइ चरणको कार्यक्रमको संचालन केन्द्रीय महासचिव जय राई र न्यु इंग्ल्याण्ड च्याप्टरका अध्यक्ष मुक्ती नारायण राईले गरेका थिए ।
वि.सं.२०७८ असार १२ शनिवार १४:५२ मा प्रकाशित



























