
असार १३, काठमाडौैं । गण्डकी प्रदेशमा सत्ता साझेदारबीच थप किचलो बढ्न थालेको छ । सरकार गठन भएको दुई साता बढि हुँदा पनि साझेदार दलबीच मन्त्रालय बाँडफाँडमा सहमती नजुटेसँगै किचलो बढ्न थालेको हो ।
सत्ता साझेदार दल जसपा र स्वतन्त्र सांसद दीपक मनाङेले मन्त्रालय बाँडफाँडमा सहमती नभएसँगै सरकारबाट बाहिरिनेसमेत चेतावनी दिन थालेका छन् । उनीहरुले यसअघिको सहमतीअनुसार नै मन्त्रालय पाउनुपर्ने अडान लिएका छन् ।
तत्कालिन समय साझेदार दलबीच मन्त्रालय बाँडफाँडमा लिखित सम्झौता नै भएको थियो । तर, सरकार गठनसँगै भने सत्ता साझेदार मुख्य दुई दल कांग्रेस र माओवादी केन्द्र सहमतीअनुसार अगाडि बढ्न तयार नभएसँगै किचलो बढेको हो ।
सहमती नजुटेसँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आइतबार कांग्रेसबाट मन्त्री बनेका कुमार खड्का र माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारीलाई मात्रै जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री पोखरेलले खड्कालाई शिक्षा र गुरुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
जसपाको अर्थ र मनाङेको भौतिकमा अडान
सत्ता साझेदार जसपाले अर्थसहित २ मन्त्रालय खोजेको छ भने स्वतन्त्र सांसद दीपक मनाङेले भौतिक मन्त्रालयमा दाबी गरेका छन् । जुन दाबी स्वभाविक पनि छ, किनकी दुवै दलसँग मुख्य सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रले सरकार गठनका बेला लिखित सम्झौता नै गरेका थिए ।
तर, मुख्य दलहरुले सहमतीअनुसार दाबी गरिएको मन्त्रालय दिन अस्वीकार गरेसँगै समस्या बढेको हो । अहिले सत्ता साझेदारले सहमतीअनुसार दिन नसक्ने भन्दै कम महत्वका मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।
जसपालाई उर्जासहितका मन्त्रालय लिन प्रस्ताव गरिएको छ भने मनाङेलाई यसअघिकै खेलकुद मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरिएको छ ।
सम्बन्धित समाचार
गण्डकीको राजनीति : सरकार बनेको एक सातामै गठबन्धनभित्र मच्चियो भाँडभैलो
वि.सं.२०७८ असार १३ आइतवार १७:२० मा प्रकाशित