२० असार, काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले आज (असार २०) गतेदेखि १ अर्ब ५० लाख रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १ अर्ब ५० लाख रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो ।
सोमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ । सर्वसाधारणका लागि निष्काशन गरिएका ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको बैंकले जनाएको छ ।
बैंकको ऋणपत्रमा छिटोमा असार २३ गतेसम्म र ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
उक्त ऋणपत्रमा ज्योति विकास बैंकका सम्पूर्ण शाखाहरु र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यलयहरुबाट यस ऋणपत्रमा आवेदन दिन सकिनेछ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गर्ने छ ।
वि.सं.२०७८ असार २० आइतवार १२:५५ मा प्रकाशित



























