२० असार, काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले बैंकहरुलाई सेयर ब्रोकरको काम गर्ने अनुुमति दिनुु आवश्यक रहेको सुुझाब नेपाल राष्ट्र बैंकलाई दिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकले गरेको सुुझाब आव्हानमा बैंकर्स संघले यस्तो सुझाब दिएको हो ।
संघले बैंकहरु देशका कुना कुनामा पुगेको भन्दै धितोपत्र बजारमा विकास र विस्तारका लागि ब्रोकर लाइसेन्स दिनुुपर्ने राय राखेको छ । यसअघि बैंकलाई धितो बजार कारोबारमा गरिएका कडाइमा फुकुवाको मागसमेत संघले राखेको छ ।
संघले दिएको सुुझाबमा भनिएको छ, ‘सहायक कम्पनीहरुले देशका कुना कुनामा छरिएका वाणिज्य बैंकहरुका शाखा मार्फत् ग्रामीण क्षेत्रमा पनि पुँजी बजारलाई विस्तार गर्न सक्दछन् तर, वाणिज्य बैंकका सहायक कम्पनीले हाल नियमानुसार निवेदन दिएर पनि ब्रोकर लाइसेन्स पाउन नसकेको अवस्था छ, यसका लागि राष्ट्र बैंकबाट समेत पहल भएमा वित्त बजारलाई सहयोग पुग्ने देखिन्छ ।’
यसैगरी संघले बैंकासुरेन्स सेवालाई पुनः शुरु गर्न, सीआरआरलाई ५० प्रतिशत बनाउन, घर कर्जामा थप सहजिकरण, नेटएडी रेसीयो, एसएलआर, सीसीडीलगायतका प्रावधान हटाइ बासल–३ लागू गर्न पनि सुुझाब दिएको छ ।
‘सर्वसाधारणमा बीमाको दायरा बढाउन बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई बीमा पोलिसी विक्री गर्न पाउने प्रावधानलाई व्यवस्थित बनाई लागू गर्ने, बैंकहरुले बैंकासुरेन्स सेवा प्रदान गर्दा मुलुकको ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुको पहुँच भएको अवस्थामा ग्राहकहरुले सहज र सरल रुपमा दुर–दराजमा समेत सेवा पाउने र यसले बीमाको दायरा बढाउन मद्दत गर्नेछ,’ सुझाबमा उल्लेख छ ।
संघले प्राथमिकताप्राप्त कर्जा÷सहुलियत कर्जा प्रवाह गर्दा विपन्न वर्गका क्षेत्रमा न्यूनतम कर्जा प्रवाह गर्दा बैंकलाई सहुलियत तथा सहजिकरण गर्न माग राष्ट्र बैंकमा राखेको छ । यस्तै, संघले राष्ट्र बैंकमा आगामी मौद्रिक नीतिमा सुझाव पेश गर्दै निषेधाज्ञा पछि चालु पुँजी प्रकृतिका कर्जा भुक्तानी ३ महिना थप गर्न भनेको छ ।
वि.सं.२०७८ असार २० आइतवार २१:४६ मा प्रकाशित






























