२३ असार, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गतेबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
बैंकले १० वर्षे अवधि रहेको ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०७८’ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि निष्काशन तथा बिक्री गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ ।
सो ऋणपत्रमा इच्छुक लगानीकर्ताले छिटोमा साउन ४ गतेसम्ममा आवेदन दिन सकिने जनाएको छ । ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
वि.सं.२०७८ असार २३ बुधवार १४:१२ मा प्रकाशित


























