back
CTIZAN AD

पहिरोमा वेपत्ता भएको ११ घण्टापछि शव फेला पर्यो

वि.सं.२०७८ असार २५ शुक्रवार

606 

shares

२५ असार, दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो ।

ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिए । ठूलो पहिरा भएकाले धेरैबेर खोजी गर्दा पनि भेटिएको थिएन । प्रहरी र स्थानीयवासीले बिहानैदेखि खोजी गरे पनि साँझ मात्र शव फेला परेको हो । बिहान साढे ५ बजे घरबाट गोठमा गएका उहाँलाई माथिबाट पहिरा खस्दा पुरेको थियो ।

पहिराले पुरिएर बिहीबार नै ऋषिङ–७ दधिवन निवासी ५२ वर्षीया देवीसरा थापाको मृत्यु भएको छ । उहाँको शव पनि दिउँसो मात्रै फेला परेको थियो । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको थियो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल हुनुभएको छ । घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गडेको र चप्पल टिप्न खोज्दा पहिराले पुरिएको स्थानीयवासीले बताएका छन् । यस्तै खोलाले बगाएर बेपत्ता हुनुभएका म्याग्दे गाउँपालिका–४ का मैतबहादुर नेपाली भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

बाढीले ७२ घर विस्थापित

बाढीपहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन् । एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिराबाट विस्थापित भएका हुन् । बन्दीपुर–२ खहरे, धारापानी, वडा नं ३ रामकोट र वडा नं ५ कल्चोकमा बाढीपहिराले ७२ घर विस्थापित भएका हुन् ।

बाढीले खहरेमा १३ घर पूर्ण क्षति र नौ घर आंशिक क्षति भएको तथा २६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए । उनका अनुसार धारापानीमा १२ घर उच्च जोखिम, रामकोटमा सात घर र कल्चोकमा पाँच घर उच्च जोखिममा परेका छन् । विस्थापित भएकाहरु कृषि केन्द्र र खहरे आमा समूहको भवनमा आश्रय लिन बाध्य छन् । “घरभित्र पानी पसेर कतिपय सामग्रीमा पनि क्षति पुग्यो, बचेका सामग्रीसहित कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरेका छौँ”, गुरुङले भने ।

छाब्दी खोलामा ह्युमपाइप

तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा तत्काल आवागमन सहज बनाउन ह्युमपाइप राख्न शुरु गरिएको छ । गत बुधबारको बाढीले पुल बगाएर सर्वसाधारणलाई आवतजावतमा समस्या भएपछि नगरपालिकाले ह्युमपाइप राख्ने तयारी गरेको हो ।

बेलिब्रिज निर्माण नहुँदासम्मको अवस्थामा आवागमन सहज बनाउन ह्युमपाइप राखिने व्यास–१ का वडासदस्य चूडामणि दाहालले जानकारी दिए । “पुल भत्किएपछि सर्वसाधारणलाई वारपार गर्न नै समस्या भयो, ह्युमपाइप हालेर केही सहज बनाउन शुरु गरेका छौँ”, उनले भने “प्रदेश सरकारको बजेटबाट बेलिब्रिज निर्माणको काम पनि छिट्टै शुरु हुन्छ ।”

पुल भत्किएको एक सातादेखि यहाँका स्थानीयवासीलाई सास्ती भएको छ । दमौली बजारबाट दक्षिणी भेगसँगको सम्पर्क टुटेको छ । स्थानीयवासी यामबहादुर आलेले तत्काल पुल निर्माण नहुँदा स्थानीयवासी मारमा परेको जानकारी दिए । यही पुल हुँदै व्यास–१३ को बेलबास, पोखरीभञ्ज्याङ, व्यास–१४ को केशवटार, सुढे, ऋषिङको हुस्लाङ, गुम्लेक, देवघाट, आँबुखैरेनी, बन्दीपुरलगायतका ग्रामीण भेगका बासिन्दा आवतजावत गर्दथे ।

“पुल भत्किएसँगै सर्वसाधारणलाई आवतजावत गर्न समस्या त भएको छ नै कृषि उपज सामग्री, दूधलगायतका सामग्री बिक्री वितरण पनि प्रभावित भएको छ”, आलेले भने । उनका अनुसार यही पुल हुँदै यस भेगका सर्वसाधारणले दूध, निउरो, तरकारीलगायतका कृषि उपज बिक्री गर्न जान्थे । “गरिबहरुले एक छाक टार्नका लागि तरकारी बिक्री गर्न पनि नपाउने भए, पुल भत्किएपछि ठूलो सङ्कट आइपरेको छ”, आलेले भने, “छिटोभन्दा छिटो यहाँ पुल बन्नुपर्छ ।”

भादगाउँतर्फका सर्वसाधारण बेलबासमा खानेपानी लिन जाने गर्दथे । पुल भत्किएसँगै त्यो काम पनि रोकिएको छ । भत्किएको पुलबाट सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न थालेपछि बेलबासका स्थानीयवासी मिलेर बाँसको फड्के बनाएका छन् तर उक्त फड्केबाट वारपार गर्न जोखिम छ । बाढीपहिरोबाट पीडित सर्वसाधारणलाई खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।

पुल भत्किएसँगै यहाँका कृषकलाई दूध दमौली बजारसम्म लगेर विक्री गर्न समस्या भएको स्थानीयवासी राजन सापकोटाले बताए । । बेलबासका ६० भन्दा बढी कृषकले दैनिक दूध बिक्री गर्दछन् । यहाँबाट दैनिक रु डेढ लाखभन्दा बढीको दूध बिक्री हुन्छ । “पुल भत्किएसँगै पशुलाई खुवाउने दाना ढुवानीमा समस्या भएको छ”, उनले भने, “छिटोभन्दा छिटो पुल बन्नुपर्छ ।”

यसैबीच छाब्दीखोलामा बेलिब्रिज निर्माणका लागि उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ताहरूको भेलाले क्याप्टेन सहवीर उच्चैको अध्यक्षतामा समिति गठन गरेको हो । भेलाले स्थानीय अगुवा यामबहादुर आलेको अध्यक्षतामा अनुगमन समिति पनि गठन गरेको छ । रासस

 

वि.सं.२०७८ असार २५ शुक्रवार ०९:४९ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...