२७ असार, काठमाडौँ । नेपाल र भारत बीचको रेल सेवा सम्झौता संशोधनको नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई) द्वारा स्वागत गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि उठाउंदै आएको माग संवोधन भएकोमा त्यसको हार्दिक स्वागत गर्दै महासंघले संशोधनले नेपालको अन्तराष्ट्रिय व्यापारमा निकै ठूलो परिवर्तन आउने अपेक्षा व्यक्त गरेकाे छ ।
हाल नेपालको वीरगंजसम्म रेल सेवा उपलव्ध भएकोमा विराटनगर, भैरहवा र इनरूवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपश्चात रेल सेवा उपलव्ध हुने गरी र नेपाल भारत सीमानाका अन्य पारवहन विन्दू तथा द्विपक्षीय व्यापार नाकाहरूमा सहमतीका आधारमा रेल सेवा विस्तार हुदै जाने सुविधाले नेपालको तेस्रो मुलुकसंगको व्यापारमा सहजता आउनुको साथै दुईपक्षीय व्यापार तथा पारवहनको सहजीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा महासंघले व्यक्त गरेको छ ।
समग्रमा व्यापार लागत घटाउनुको साथै नेपालको अन्तराष्ट्रिय व्यापारमा समेत महत्वपूर्ण सघाउ पुर्याउने विश्वाससमेत महासंघको छ ।
भारतमा रेल सेवा उपलव्ध गराईरहेका सवै अनुमति प्राप्त कार्गो ट्रेन अपरेटहरूले नेपालको पारवहनका लागि हुने ढुवानीका लागि सेवा दिन सक्ने भएकाले रेलबाट हुने कार्गो ढुवानीमा प्रतिस्पर्धा बढ्न गई लागत घट्ने तथा समय समेत बचत हुने महासंघले जनाएको छ ।
नेपाल भारत बीचको रेल संझौता संशोधनबाट नेपालको आयात निर्यातको लागत तथा समय घटाउन र कागजी प्रक्रियामा पनि सरलता आउने विश्वास व्यक्त गर्दै महासंघले उक्त संशोधित सम्झौताको अक्षरशः पालनाका लागि दुवै देशका सरकार समक्ष अनुरोध गरेको छ ।
बहुप्रतिक्षित नेपाल र भारत बीचको रेल सेवा सम्झौतामा शंसोधन भई दुवै देशका सरकारकातर्फबाट हस्ताक्षर समेत भएको छ । यो संशोधनसंगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री वन्दरगाहसम्म दुइतर्फि ढुवानी गर्न पाउनेछन । महासंघले यो मुद्धालाई हरेक औपचारिक अनौपचारिक भेटवार्तामा लामो समयदेखि निरन्तर उठाउँदै आएको थियो ।
शंसोधित संझौता अनुसार नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले विरगन्ज र विराटनगरदेखि कोलकातारहल्दियासम्म रेल सेवा दिन सक्ने छन् ।
संशोधित सम्झौताबाट भारतका निजी रेल सेवा प्रदायकहरूले नेपालका लागि रेलबाट हुने ढुवानी सेवा दिन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, संशोधित सम्झौता अनुसार यसअघि रेलको ढुवानी भाडा कोलकतामै तिर्नुपर्ने व्यवस्थामा संशोधन भई नेपाली बैंकिङ प्रणालीमार्फत रेल भाडा भुक्तानी गर्न सकिने व्यवस्था समेत गरिएको छ ।
Doing Business 2020 अनुसार आयात निर्यातका क्रममा करिव १० वटा सम्बन्धित कागजातहरूपेश गर्नुपर्ने देखिन्छ । त्यसैगरी निर्यातका क्रममा बोर्डर प्रक्रिया पुरा गर्न ११ घण्टा र डकुमेन्ट प्रक्रिया पुरा गर्न करिव ४३ घण्टा लाग्ने देखिन्छ । नेपालले बीरगंजमा एकीकृत चेकपोस्ट खडा गरेपछि आयात निर्यातमा समय तथा लागत दुवै घटाउन सफल भएको छ ।
वि.सं.२०७८ असार २७ आइतवार २०:२४ मा प्रकाशित






























