२९ असार, मङ्गलबारे । उच्च अदालत विराटनगर इलाम इजलासमा मृत भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अपराधी पहिचानमा तथ्य नजिक प्रहरी पुगेको छ ।
हाल प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली कार्यालय परिसरमै मृत फेला परेकी थिइन् । उनी उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यालय सहयोगी पदमा केही समय अघिदेखि काम गर्दै आएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय इलामले बिहानैदेखि घटनाका विषयमा अनुसन्धान गरिरहेको थियो । थप अनुसन्धान गर्न धरानबाट कुकुर झिकाएरसमेत अनुसन्धान गरिएको हो । कुकुर आउनुअगाडि नै प्रहरीले अभियुक्त पत्ता लगाउन करिब सफल भए पनि कुकुरको अनुसन्धानपछि थप पहिचान र प्रमाण फेला पर्न सक्ने भन्दै भोलिसम्ममा थप अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ ।
यता स्थानीयवासी तथा महिला अधिकारकर्मीले छिटो दोषी सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले घटनाका विषयमा छानबिन चाँडो हुनुपर्ने भन्दै उच्च अदालत अगाडि दबाबस्वरुप नाराबाजीसमेत गरेका थिए ।
अर्धनग्न अवस्थामा फेला परेकी उनी अदालतकै बलेँसीमा घोप्टो अवस्थामा फेला परेकी थिइन् । शव परीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान धरान पठाइनेसमेत बताइएको छ ।
फाकफोकथुममा शव फेला
इलामको फाकफोकथुममा एक पुरुषको शव फेला परेको छ । फाकफोकथुम–२ गोलेगाउँ निवासी अन्दाजी ५८ वर्षीय दानबहादुर तामाङ (गैरीघरे माइला) को शव फेला परेको हो । सोमबार दिउँसो स्थानीयवासीले शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
फाकफोकथुम–२ को पुतलीखर्क भन्ने स्थानमा मृतावस्थामा बाटोमा भेटिएको शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । एकतप्पा प्रहरी चौकीको टोलीले अनुसन्धान गरिरहेको भए पनि के कारणले मृत्यु भयो भन्ने खुल्न सकेको छैन ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान भएपश्चात परीक्षणका लागि जिल्ला अस्पताल इलाममा ल्याइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले इलामले जानकारी दिएको छ ।
वि.सं.२०७८ असार २९ मंगलवार १०:५० मा प्रकाशित





























