back
CTIZAN AD

सरकारबाट राहत नआएको भन्दै बाढीपीडितको गुनासो

वि.सं.२०७८ असार २९ मंगलवार

597 

shares

२९ असार, मनाङ । हिमाली जिल्ला मनाङमा लामो समयदेखि सरकारबाट कुनै किसिमका राहत प्राप्त नभएको बाढीपीडितले गुनासो गरेका छन् ।

गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिराले जिल्लाको अधिकांश क्षेत्रमा क्षति पुगेको छ । बाढीपहिरो आएको लामो समय बित्दा पनि सरकारको तर्फबाट कुनै सहयोग नपाएको उनीहरुको गुनासो छ ।

अहिलेसम्म सरकारको तर्फबाट कुनै राहतको व्यवस्था नभएको र व्यक्तिगतरूपमा मात्रै राहत प्राप्त भएको चामे गाउँपालिका–४ का स्थानीय बासिन्दा पल्साङ लामाले बताए ।

“बाढीपहिरापछि कष्टकर र दयनीय अवस्थामा बस्न बाध्य भएका छौँ, घर बाढीपहिराले बगाएपछि अहिले टेण्ट र त्रिपालको बास भएको छ । गाउँबस्तीलाई हेर्दा मन भक्कानिन्छ । यस वर्ष मनाङमा सोच्दै नसोचेको कुरा भयो ।

एक्कासि बाढीपहिरो आएर घर बस्ती सबै लग्यो”, उनले भने, “यो समयमा सरकारी पक्षबाट सहयोग भएको छैन । राहत आएको छ त केवल विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीबाट व्यक्तिगतरूपमै भए पनि राहत सामग्री लिएर आएका छन् ।”

उनले पुनः थप्दै भने, “न प्रदेश सरकारले सहयोग गरेको छ, न केन्द्र सरकारले । अहिलेसम्म जसोतसो चलिरहेको छ । बस्न र खानका लागि धौधौ भएको बेलामा सरकारले कुनै चासो देखाएन । सरकार नै नभएको महसुस भएको छ ।”

आफैँले खाद्यान्न ढुवानी गरेर ल्याउन सडक सञ्जाल पूर्णरूपमा टुटेको छ । यहाँका बाढीपीडित केही सामुदायिक भवनतिर र केही त्रिपाल टाँगेर बस्ने गरेका छन् । सरकारको सहयोग नपाएपछि यहाँका नागरिक निराश हुन पुगेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीपहिरापीडितलाई सरकारीस्तरबाट सक्दो सहयोग गरेको बताएका छन्। बाढीपहिरापीडितका लागि व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गरिएको प्रजिअ लामिछानेले बताए । उनले भने, “हामीले कुनै पनि बाढीपहिरापीडितलाई छुट्याएका छैनौँ ।

व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गर्दै आएका छौँ । जिल्लामा खाद्यान्न सङ्कटको सम्भावना देखिएको छ । व्यक्तिगत र सरकारबाट पनि दोहोरो हुने गरेर कसैलाई पनि राहत प्रदान गरिएको छैन । सबैलाई समानरूपले राहतको व्यवस्था मिलाएर प्रदान गरेका छौँ ।”

गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिराले अर्बौँको भौतिक क्षति पुर्याएपछि यतिबेला मनाङवासी पीडामा छन् । मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ ।

जिल्लाको चार स्थानीय तह नै बाढीपहिराबाट पूर्णरूपमा प्रभावित भएको छ । नासों, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरो दुवैबाट क्षतिग्रस्त भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ ।

वि.सं.२०७८ असार २९ मंगलवार ११:०६ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...