असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका कम्युनिष्ट घटकहरुबीच पुनः एकताको तयारी भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच अन्यलाई पनि समेटेर एकता गर्ने तयारी चलेको हो ।
माओवादी उच्च स्रोतका अनुसार जसबारे चरणबद्ध रुपमै तयारी गरिएको छ । बताइएअनुसार एमालेको केपी शर्मा ओली पक्षलाई अलग राखेर एकताको खाकासमेत बनाइएको छ । प्रचण्ड र माधव मिलेर बनाएको खाकामा एमालेका उपाध्यक्ष वामदेव गौतम पनि सहमत रहेका छन् ।
को–को होलान् सहभागी ?
बताइएअनुसार बृहत कम्युनिष्ट मोर्चा निर्माण गर्ने उद्देश्यसहित गरिएको तयारीमा माओवादी केन्द्र र एमालेको माधव र वामेदव पक्षसहित अन्य घटकहरुलाई पनि समेट्ने तयारी भएको छ । सत्ता निर्माणका लागि बनेको गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)को बाबुराम–उपेन्द्र पक्षबीच पनि पार्टी एकता गर्नेगरि उच्च तहमा छलफल सुरु भएको बुझिएको छ ।
माओवादी केन्द्र र एमालेको माधव समूहले सत्ता बाहिरका अन्य पार्टी तथा समूहसँग एकताको छलफल चलाउने तयारीसमेत गरेका छन् । पार्टी एकताको लागि बनाइएको खाकाअनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीसहितका पार्टीहरुसँग पनि छलफल चलाउनुपर्ने लाईनमा दुई पार्टी देखिएका छ ।
माधव पक्षलाई सजिलो हुनेगरि ऐन संशोधनको तयारी
एमालेमा विवाद समाधानको लागि गठित कार्यदलले सुझाब बुझाएको भएपनि विवाद समाधान हुने अवस्था छैन् । सत्ताबाट बाहिरिए लगत्तै निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा नराख्ने घोषणा गरेका छन् । उनले माधव बाहेकका अन्य नेतालाई भने आत्माआलोचना गरेमा भित्र्याउन सकिने बताएका छन् ।
ओलीले सार्वजनिक रुपमै पहिलो पटक बोलेको भएपनि एमालेको माधव पक्ष यसअघिदेखि नै पार्टी विभाजनको तयारीमा थियो । तर, कानूनी रुपमा समस्या देखिएसँगै माधव पक्ष पछाडि हटेको थियो । बताइएअनुसार दल विभाजनसम्बन्धी विधेयक वा अध्यादेश ल्याएर माधव पक्षले पार्टी फुटाउने तयारी गरेको छ ।
बताइएअनुसार गठबन्धनको तर्फबाट देउवालाई अगाडि सार्ने निर्णय हुँदा नै तत्कालिन समय गठबन्धनमा माधव पक्षलाई सहज हुने गरि विधेयक वा अध्यादेश ल्याउने विषयमा सहमती भएको थियो । सरकार निर्माणलगत्तै सो विषयलाई प्राथमिकता दिने गठबन्धनको निर्णय थियो ।
बुधबार मात्रै सोही विषयहरुमा केन्द्रीत रहेर नेता माधव नेपाल, वामदेव गौतम र माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छुट्टा छुट्टै छलफल भएको छ ।
वि.सं.२०७८ असार ३० बुधवार १५:३२ मा प्रकाशित
























