back
CTIZAN AD

यस्तो छ, एमाले स्थायी कमिटीले गरेको निर्णयको पूर्ण पाठ

वि.सं.२०७८ साउन १ शुक्रवार

756 

shares

१ साउन, काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकले अदालतको फैसलालाई मान्दै जनतामाझ जाने निर्णय गरेको छ । त्यस्तै बैठकले पार्टी विवाद समाधान गर्न गठित कार्यदललाई भंग गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले १० बुँदे प्रस्तावलाई ग्रहण गर्दै सिर्जनशील रुपमा कार्यान्वयन गर्ने पनि निर्णय  गरेकाे छ ।

बैठक माधव पक्षका नेताहरु विनै सम्पन्न भएकाे छ । माधवकुमार नेपाल पक्षले बैठक रोक्न र समझदारी कायम गरेर अघि बढ्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गरेको थियो । तर, अध्यक्ष ओलीले ठाडै अस्वीकार गरेसँगै माधव पक्षीय नेताहरू बैठकबाट बाहिरिएका थिए ।

यस्तो छ बैठकद्वारा जारी प्रेस विज्ञप्ति :

१ साउन, २०७८

प्रेस वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको बैठक आज २०७८ साउन १ गते अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा सम्पन्न भयो । बैठकलाई सम्वोधन गर्दै अध्यक्ष कमरेड ओलीले सर्वोच्च अदालतको फैसलासँगै अब पार्टीले प्रमुख प्रतिपक्षका रुपमा रहेर देश, जनता र लोकतन्त्रको पक्षमा सशक्त र प्रभावकारी भूमिका खेल्ने बताउनु भयो ।

बैठकले देहायका विशेष प्रस्तावहरू पारित गरेको छ–

१) सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा पार्टी दृष्टिकोण

२०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा गरिएको फैसलाले नेपालको संविधानको अक्षर र भावना, हामीले अवलम्बन गरेको बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली, शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त तथा सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहीत रहेको संविधानको आधारभूत प्रस्थापनालाई अतिक्रमण गर्दै तिनलाई कमजोर तुल्याएको छ ।

मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहीत रहनु लोकतन्त्रको सर्वाधिक महत्वपूर्ण पक्ष हो । जनतामा निहीत सार्वभौमसत्ता र राजकीयसत्ता अभिव्यक्त हुने सबैभन्दा महत्वपूर्ण माध्यम भनेकै आवधिक निर्वाचनमार्फत् जनताका प्रतिनिधिहरू चयन हुनु र उनीहरूमार्फत् मुलुकको शासन व्यवस्था सञ्चालित हुनु हो । तर ताजा जनादेशका लागि जनतामा जाने निर्णयलाई ‘निरङ्कुश’ भनेर आरोपित गर्ने र कानुनको अपव्याख्या एवं दलीय प्रणालीको आधारभूत संरचना भत्काएर सरकार बन्ने कुरालाई चाहिँ लोकतान्त्रिक भन्ने गलत परिभाषाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातिर धकेलेको छ ।

नियन्त्रण र सन्तुलनको सिद्धान्त बमोजिम राज्यका सबै अङ्गबीच समन्वय हुन सकेमा मात्रै र सबै आ–आफ्नो सीमाभित्र मर्यादित र संयमित रहन सकेमात्रै लोकतान्त्रिक प्रणाली सुरक्षित र गतिशील हुन सक्छ । लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका राज्यका तीनवटा अङ्गबीचको सन्तुलन सर्वोच्च अदालतको यो फैसलासँगै नराम्रोसँग खलबलिन पुगेको छ ।

आठ दशकभन्दा लामो समयदेखि सञ्चालित नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा प्रमुख माग पार्टी स्वतन्त्रता र बहुदलीय पद्धतिको स्थापना थियो । विचारधारा, दर्शन र कार्यक्रम मिल्ने व्यक्तिहरू मिलेर दल खोल्न पाउने, त्यस्ता दलहरू आफ्ना कार्यक्रम लिएर जनताबीच जाने र जन्मजात श्रेष्ठताको सामन्ती परम्पराका आधारमा होइन, जनताबाट अनुमोदित दल या दलहरूले मुुुलुकको शासन सञ्चालन गर्ने प्रणाली स्थापनाका लागि अनगिन्ती शहीदहरूले जीवन आहुति दिनुभएको छ । निर्वाचनमा दलले व्यक्तिलाई उम्मेदवारको रुपमा मनोनयन गर्छ । जनताले दलका उद्देश्य, घोषणापत्र र काम हेरेर आफ्नो अभिमत प्रकट गर्छन् । तर यसरी पार्टीबाट उम्मेदवार बनेका र दलको चुनाव चिह्न एवं घोषणापत्रका आधारमा जनताले निर्वाचित गरेका प्रतिनिधिहरूले सरकार बनाउने बेलामा चाहिँ जो कसैलाई समर्थन गर्न सक्छन्, जो कसैलाई भोट हाल्न सक्छन्, फ्लोर क्रस पनि गर्न सक्छन्, त्यसो गर्दा दलको कुनै ह्वीप लाग्दैन र उनीहरूमाथि कुनै कार्बाही गर्न पाइँदैन भन्ने व्याख्या हाम्रो दशकौं लामो सङ्घर्ष, दलीय आस्थाका लागि चुकाएको मूल्य र दलीय प्रणालीको आधारभूत प्रस्थापनामाथिकै प्रहार हो । एउटै दलका सदस्यहरू सत्ता र प्रतिपक्ष बन्ने परिकल्पना कुनै पनि लोकतान्त्रिक प्रणालीले गर्दैन ।

निश्चित व्यक्तिका निश्चित आकाङ्क्षा परिपूर्तिका लागि गरिएको संविधानको यस्तो अपव्याख्याले वस्तुतः संविधानको अप्रत्यक्ष संशोधन गरेको छ ।

राजनीतिक प्रश्नहरूको फैसला गर्ने मुख्य जिम्मेवारी दलहरूको हो । सार्वभौमसत्ता सम्पन्न जनताको हो । त्यसैले राजनीतिक प्रश्न जोडिएका मुद्दाहरूमा अदालतको अधिकतम संयमको अपेक्षा गरिन्छ । अत्यधिक न्यायिक सक्रियता अनपेक्षित विषय हो । राजनीतिक प्रश्नमा प्रवेश नगर्ने भनेर विगतमा अदालत स्वयंले स्थापित गरेका नजिर पनि कायमै छन् । तर सन्दर्भ नै नउठेका, मागदाबी नै नभएका र संविधानले परिकल्पना नगरेका विषयमा समेत राजनीतिक फैसला गरेर आग्रह मात्रै देखाउने काम भएको छ । यस्ता क्रियाकलापले राज्यका सम्बन्धित अङ्गको निष्पक्षता, पवित्रता र स्वच्छतामा ह«ास ल्याएको छ । दोहोरो मापदण्डले संस्थाको विश्वसनीयता माथि प्रश्न उठाएको छ ।

यस फैसलाबाट सिर्जित राजनीतिक विकृतिहरूको मूल्य नेपालको लोकतान्त्रिक प्रणालीले भविष्यमा लामो समयसम्म चुकाउनुपर्ने आशङ्काका कारण नेकपा ९एमाले० गम्भीर र चिन्तित छ ।

नेकपा (एमाले) संविधानको सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिकामाथि विश्वास गर्ने पार्टी हो । तसर्थ फैसलाका कतिपय प्रश्नहरूप्रति हाम्रो आलोचना, विमति र गहिरो आशङ्का भए पनि फैसलालाई कार्यान्वयन गर्ने कुरामा भने पार्टी स्पष्ट छ । त्यसै अनुसार नै फैसला कार्यान्वयन भइसकेको तथ्य पनि सबैका सामू छ ।

फैसलाका विभिन्न पक्षलाई लिएर पार्टीले जनतामाझ आफ्ना दृष्टिकोण, मान्यता र अवधारणाहरू बारे बहस सञ्चालन गर्ने छ ।

२) नेकपा (एमाले) मा विद्यमान समस्या समाधान सम्बन्धी हाम्रा प्रयासका बारेमा

विगत लामो समयदेखि पार्टीभित्र उत्पन्न समस्या समाधान गर्न यसबीचमा हामीले लामो, अथक एवं अधिकतम् लचकताका साथ प्रयास ग¥यौं । यसका लागि औपचारिक र अनौपचारिक भेटघाट, छलफल तथा समस्या समाधानका लागि अनेकौं पहल भए । समाधान खोज्ने प्रयोजनका निम्ति कार्यदल गठन गरियो । साथीहरूका आग्रहमा पार्टीभित्र सहज वातावरण निर्माण गर्न भनेर पटक–पटक बैठक समेत स्थगन गरिए । पार्टीको तर्फबाट समस्या समाधानका लागि भएका यी प्रयासहरूलाई समेत स्मरण गर्दै बैठकले निम्न निर्णय गरेको छ ।

(क) पार्टीमा विद्यमान समस्या समाधान सम्बन्धमा सुझाव दिन गठित कार्यदलले तयार गरी बैठक समक्ष प्रस्तुत गरेको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने ।
(ख) प्रस्तावलाई सिर्जनात्मक र रचनात्मक ढङ्गले कार्यान्वयन गर्ने ।
(ग) कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेकोमा कार्यदलमा रहनुभएका कमरेडहरूलाई धन्यवाद दिने र कार्यदल विघटन गर्ने ।

३) नेकपा (एमाले) नेतृत्वको सरकारलाई धन्यवाद ज्ञापन

२०७४ साल फागुन ३ गते पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकार करिब ४१ महिना पूरा गरेर सर्वोच्च अदालतको परमादेशबाट यही २०७८ असार २९ गतेबाट बिदा भएको छ । यस अवधिमा सरकारले संविधानको कार्यान्वयन गर्ने, सङ्घीयता सुदृढ गर्ने, सामाजिक न्यायको प्रवद्र्धन गर्ने, राष्ट्रियताको सम्बद्र्धन गर्ने, नेपालको बाह्य सम्बन्धलाई सशक्त र प्रभावकारी बनाउने, विभिन्न असहमत पक्षहरूलाई राष्ट्रिय अखण्डता, शान्तिपूर्ण मूलप्रवाह र संवैधानिक दायरामा ल्याएर राजनीतिक द्वन्द्वको अन्त्य एवं दिगो शान्तिको स्थापना गर्ने, भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्ने, कोभिड महामारीको प्रभावकारी सामना गर्ने, मुुलुकको सामाजिक–आर्थिक रुपान्तरण तथा विकास गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा उल्लेखनीय कामहरू गरेको छ । प्रारम्भदेखि नै पार्टीभित्र तथा बाहिरबाट सिर्जित असहयोग, घेराबन्दी तथा षड्यन्त्रहरूलाई गरिएका यी कामहरू ऐतिहासिक महत्वका छन् । यसका लागि पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उहाँ नेतृत्वको सरकारलाई पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्ने ।

४)पार्टीको अबको भूमिकाका सम्बन्धमा

देशप्रति जिम्मेवार र राष्ट्रियताको पहरेदार, लोकतन्त्र र संविधानको रक्षक एवं जनताको हितप्रति अटल रहँदै अब नेकपा (एमाले) ले सक्रिय र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने छ । अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरूलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने ।

प्रदीप ज्ञवाली
प्रवक्ता

 

वि.सं.२०७८ साउन १ शुक्रवार १८:४७ मा प्रकाशित

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...