८ साउन, काठमाडौं । बुधवार सांसद पदबाट राजिनामा दिएका नेपाली कांग्रेसका नेता अमरेश कुमार सिंहलाई जिल्लाका १२ नेताले कारवाही गर्न भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवालाई पत्र पठाएका छन् ।
क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएका सर्लाहीका नेताहरुप्रति ऐक्यबद्धता जनाउँदै सांसदपदबाट राजिनामा दिएका सिंहलाई उल्टै सर्लाहीकै नेताहरुले कारवाही गर्न भन्दै पत्र पठाएका हुन् ।
‘पटक–पटक आफ्नो संसदीय कोषको रकम हिनामिना गरि पार्टीलाई बदनाम गराउने, विपद र दैवि प्रकोपका बेला पनि एकचोटी पनि क्षेत्रमा नआउने र अहिले महाधिबेशनका लागि जिल्ला र क्षेत्रले संचालन गरेका कार्यक्रममा नआउने तर वडा, पालिका, प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, र जिल्ला कार्य समितिहरुले गरेका निर्णयहरुलाई नमानी कुल्चेर अगाडि बढ्न विभिन्न जालझेल तानासाही प्रवृत्ति अवलम्बन गर्ने माननिय अमेरश कुमार सिंहज्यूको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नं ४ का नेता र पार्टी कार्यकर्ताहरु आतंकित भइसकेकोल वहाँमाथि पार्टीको विधि विधान अनुरुप आवस्यक कारवाही गरि वडादेखि क्षेत्रसम्मको निर्णयले इन्ट्रि भएका क्रियाशील सदस्यता सदर गरिदिनु हुन अनुरोध गर्दछौं ।’ १२ नेताहरुको हस्ताक्षर रहेको पत्रमा भनिएको छ ।


वि.सं.२०७८ साउन ८ शुक्रवार ०८:५६ मा प्रकाशित






























