८ साउन, काठमाडौं । नेपालमा आज २९७७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३,६९८ पिसीआर र ३६१० ऐन्टिजेन गरी १७,३०८ वटा नमुना परीक्षणमा २,९७७ जना संक्रमित थपिएका हुन् ।
नेपालमा हालसम्म ३५ लाख १७ हजार ८८९ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको २ लाख ८२ हजार १७९ गरी ३८ लाख ६८ नमुना परीक्षणमा हालसम्म ७ लाख ३० हजार २५१ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो घण्टामा देशैभरी १६७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६७८ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ३९ हजार ३६८ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १८ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,६७१ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार नेपालमा हाल २७ हजार ६६१ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २४ हजार ९८३ र संस्थागत आइसोलेशनमा २६७८ जना रहेका छन् । बिहीवारको तुलनामा दुवै आइसोलेशनमा बस्नेको संख्या बढी देखिएको छ ।
वि.सं.२०७८ साउन ८ शुक्रवार १६:३१ मा प्रकाशित




























