साउन ८, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले गत साउन ३ मा ठूलो षडयन्त्र गर्न खोजिएको भएपनि परास्त गरिएको बताएका छन् । उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा बहुमत पुग्न नदिने र संसद विघटनलाई पुष्टी गर्न खोजिएको थियो ।
तर, त्यसलाई असफल बनाइएको उनले बताए । ४३औं पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार ललितपुरको च्यासलमा आयोजित ‘प्रवचन कार्यक्रमुमा बोल्दै नेता नेपालले भने, ‘साउन ३ गतेका दिनमा गम्भीर षडयन्त्र भएको थियो। जसरी पनि शेरबहादुर देउवाको सरकारले विश्वासको मत नपाओस्, नपाएपछि विघटन गर्ने मेरो कदम ठीक थिए, दूरदर्शी राजनेता म नै हुँ भनेर डंका बजाउने सोचलाई हामीले असफल बनायौं ।’
नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष आफ्नै कदमले क्रमशः कमजोर हुँदै गएको बताए । उनले ओलीको पक्षमा १२१ बाट सांसद घटेर ८३ मा पुगेको बताए ।
नेता नेपालले अगाडि भने, ‘संघ संगठन विचारको आधारमा बन्छन् । सिद्धान्तको आधारमा बन्छन् । धेरै जनताले चाहने विचार, संगठन हो । आज बहुमत पाएको यत्रो कम्युनिस्ट पार्टी नेकपा (एमाले) १२१ ठाउँमा जितेकोमा घट्दा–घट्दा ८३ मा पुगेको छ । अझै कति घट्ने हो ठेगान छैन !’
उनले आफुँहरुले गरेको विद्रोह पद र प्रतिष्ठाको नभएको बताए । ‘पद र प्रतिष्ठाको लडाइँ होइन। नेतृत्वको लडाइँ होइन। वैचारिक मान्यतासँग जोडिएका विषयको लडाइँ हो’, नेपालले भने, ‘विधि र आचरणको विषयसँग जोडिएको अन्तरविरोध हो।’
वि.सं.२०७८ साउन ८ शुक्रवार १८:०१ मा प्रकाशित






























