साउन १४, काठमाडौं । नेपाली कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै देखिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको तयारी गरेपछि आकांक्षी बढ्न थालेका हुन् ।
कांग्रेस संस्थापनभन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्रीका आंकाक्षी धेरै देखिएका छन् । पौडेल पक्षभित्रका कोइराला परिवारका पनि थुप्रै नेताहरु आकांक्षीको रुपमा अगाडि देखिएका छन् ।
यता सिटौला पक्षबाट पनि आकांक्षीहरुको संख्या उतिकै संख्यामा देखिएको छ ।
कुन गुटबाट को छन् मन्त्रीका आकांक्षी ?
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यसअघि नै आफुसँगै गृहमा बालकृष्ण खाँण, कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्यमा राज्यमन्त्रीको रुपमा उमेश श्रेष्ठलाई ल्याइसकेका छन् । दुई जनालाई फुल मन्त्री र एक जनालाई राज्यमन्त्री बनाएका देउवाले बाँकी केहिलाई समेट्ने तयारी गरेका छन् ।
उनको तयारीमा देउवा गुटबाट झण्डै आधा दर्जन नेताहरु मन्त्रीका आकांक्षी देखिएका छन् । देउवा पक्षबाट सचेतकसमेत रहेकी पुष्पा भुसाल, डा. नारायण खड्का, मानबहादुर विश्वकर्मा, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुर लामालगायत मन्त्रीका आकांक्षी देखिएका छन् ।
यस्तै पौडेल पक्षबाट सुजाता कोइराला, दिलेन्द्र बडू, मिनेन्द्र रिजाल, राजन केसी, तेलुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइलीलगायत मन्त्रीका आंकाक्षी छन् । पौडेल पक्षभित्रै देखिएका फरक–फरक गुटका पनि आ–आफ्नै दाबी छन् ।
यता कृष्णप्रसाद सिटौला पक्षबाट पनि गगन थापा, उमाकान्त चौधरी, भीमसेनदास प्रधानलगायत पनि मन्त्रीका आकांक्षी छन् ।
कहिलेसम्म छानिएलान् मन्त्रि ?
गठबन्धन सरकारमा प्रधानमन्त्री देउवासहित कांग्रेसबाट हाल ४ जनाले जिम्मेवारी पाईसकेका छन् । गठबन्धनका अन्य दललाई के–कति संख्यामा मन्त्रालय दिने हालसम्म स्पष्ट भने भईसकेको छैन् ।
कांग्रेसले नै पाउने मन्त्रालयको टुंगो नभएको अवस्थामा मन्त्रीका आकांक्षी बढ्दा स्वभाविक छान्न सकस हुने देखिन्छ । एक दर्जनभन्दा बढिको संख्यामा आंकाक्षी देखिएको अवस्थामा कांग्रेसलाई मन्त्री छान्न र गुट व्यवस्थापन गर्न गाह्रो छ । मन्त्रालय बाँडफाँड नभएका कारण पनि देउवाले निर्णय लिन सकिरहेका छैनन् । कांग्रेसमा दिनहुँ बस्ने पदाधिकारी बैठक निष्कर्ष बिहिन बिहिन बन्नु यसैको कारण हो ।
कांग्रेस उच्च स्रोतले जनाएअनुसार मन्त्रालय बाँडफाँड लगत्तै देउवाले गुटगत रुपमै मन्त्री छान्ने योजना बनाएका छन् । कांग्रेसले पाउने मन्त्रालयलाई गुटगत रुपमा विभाजित गरि मन्त्री छनोट गर्ने योजना उनको छ । बताइएअनुसार गठबन्धनका दलहरुबीच सहमती भएलगत्तै पदाधिकारी र शीर्ष नेताहरुको बैठकबाट निर्णय लिने तयारी देउवाले गरेका छन् ।
वि.सं.२०७८ साउन १४ बिहीवार १२:५३ मा प्रकाशित




























