साउन १८, काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाई विपक्षी गठबन्धनले बहमुतको सरकार गठनका लागि आव्हान गर्न माग गर्दै निवेदन दिएका छन् । सोमबार विपक्षी गठबन्धनका ४१ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखलाई निवेदन बुझाएका हुन् ।
माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आव्हान गर्नुपर्ने माग राखेका छन् ।
उनीहरुले मुख्यमन्त्री पोखरेलले बहुमत नै नभईकन नै सरकार सञ्चालन गरिरहेको र यसअघि अविश्वासको प्रस्तावमाथि छलफलसमेत नगरिएको बताएका छन् । उनीहरुले तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले पनि अल्पमतमा परेका पोखरेललाई जालसाजी रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेको आरोप विपक्षीको छ ।
प्रदेश प्रमुखलाई बुझाइएको निवेदनमा भनिएको छ, ‘प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सो अनुसार नगरी प्रदेशसभामा तत्कालीन समयमा जम्मा ३८ जना सदस्य रहेको नेकपा एमाले दलका नेता मा।शंकर पोखरेललाई धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख मा. धर्मनाथ यादव ज्यूबाट संविधान विपरित हुने गरी नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभुत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्परा विपरित संविधानको जालसाजी प्रयोग गरी नियुक्ति र सपथ गराईयो ।’
प्रदेशसभामा हाल कायम रहेका ८० सांसदमध्ये विपक्षी गठबन्धनतिर सभामुखबाहेक ४१ सांसद देखिएका छन् । तर, मुख्यमन्त्री पोखरेलसँग ३८ सांसदको मात्रै समर्थन छ ।
यसअघि अल्पमतमा परेका पोखरेलले प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि अधिवेशन नै अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएका थिए । उनी नियुक्तीको दिनदेखि नै बहुमतमा नभएको स्पष्ट देखिन्छ ।
यस्तो छ गठबन्धनले बुझाएको निवेदन पत्र




वि.सं.२०७८ साउन १८ सोमवार १३:५७ मा प्रकाशित






























