साउन २१, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफुँलाई मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो निवासमा ६ दिनसम्म बन्धक बनाएर राखेको आरोप लगाएकी छिन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले गत साउन १५ मा बुटवल ल्याएर २० गते (६ दिनसम्म) मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको बताएकी हुन् ।
उनले बताएअनुसार उनी २० गते (बुधबार) बिहान शौचालय जाने बाहानामा मन्त्री निवासबाट भाग्न सफल भएकी थिइन् । उनी शौचालयको चप्पल लगाएरै मन्त्री क्वाटरबाट भागेकी थिइन् ।
उनले बताएअनुसार साउन १५ मा उनको घर तुल्सीपुर आएका एमालेको प्रदेश सभाका प्रमुख सचेतक भूमीश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले उनलाई अपहरण शैलीमा मन्त्री निवास पुर्याएका थिए । नेपालगञ्ज अस्पताल पुर्याउन सहयोग गर्छौ भनेका उनीहरुले जबरजस्ती बुटवल ल्याएको उनको भनाई छ ।
मन्त्री निवासमा उनलाई जबरजस्ती एमाले प्रवेश गरेको विज्ञप्ती निकाल्न लगाइएको उनको आरोप छ । उनले बताएअनुसार अन्य दुई/तीनवटा माइन्यूटमा पनि उनलाई जबरजस्ती हस्ताक्षर गर्न लगाइएको थियो ।
तर, कानूनी उपचारमा नजाने
वलीले बताएअनुसार बुधबार मन्त्री निवासबाट भाग्न सफल भएकी उनले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाबारे आफ्नो बयान सार्वजनिक गरेकी थिइन् । उनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्व केहि गम्भीर आरोप पपनि लगाएकी छिन् । पोखरेलले आफुँलाई अपहरण गरेको, ६ दिनसम्म बन्धक बनाएको, इच्छा विपरित विभिन्न कागजमा हस्ताक्षर गर्न लगाइएको जस्ता आरोप उनको छ ।
तर, यति गम्भीर आरोप लगाएकी वलीले पोखरेलविरुद्व कानुनी उपचार भने नखोज्ने भएकी छिन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्य तथा उनको पत्रकार सम्मेलनको संयोजकर्ता नेता इन्द्रजित थारुका अनुसार वलीको मुद्दालाई राजनीतिक विषय मात्रै बनाउने निर्णय भएको छ ।
संसार न्यूजसँग थारुले भनेका छन्, ‘म राजनीति गर्ने मान्छे हो, राजनीतिक रुपमा नै जाऔं, राजनीतिक मान्छे भएकै कारण यी विषय आएका हुन् भन्ने कुरा उहाँ (विमला वली)को छ ।’
अपहरण र ज्यान बन्धन गरेको मुद्दा कानूनी होइन् र ? भन्ने प्रश्नमा थारुले वलीकै सुझाबअनुसार राजनीतिक मात्रै बनाउने समझदारी भएको बताए ।
‘अपहरण गरेको मुद्दा कानुनी भएपनि उहाँले नै कानूनी रुपमा त्यस्तो गर्न नमिल्ने कुरा गर्नुभएको छ, हामीले हेण्डलिङ्ग कसरी गर्ने भन्ने विषयमा, सरकार बन्ने अवस्था पनि भईसके पछि थोरै जिम्मेवारी साथ अगाडि बढ्ने निष्कर्ष निकाल्यौंं’ थारुले संसार न्यूजसँग भने, ‘उहाँले पनि पछिसम्मको लागि व्यक्तिगत इगो, रिसीबी किन राख्ने ? किन साँध्ने ? राजनीतिक पृष्ठभूमिका कारणले भएका कुराहरु हुन्, त्यसले गर्दा ढंगले लिने र जाने गर्नुपर्छ, घर परिवारको पनि त्यहि सुझाब सल्लाह छ भन्ने कुरा गर्नुभयो ।’
थारुका अनुसार अपहरण र बन्धक गरिएको विषयलाई राजनीतिक रुपमा भण्डाफोर गर्ने तयारी माओवादी गरेको छ ।
हाल वलीको भने मोवालइ अफ छ । थारुले बताएअनुसार मानसिक तनावमा भएको कारणले उनले कसैसँग कुराकानी गरेकी छैनन् ।
वि.सं.२०७८ साउन २१ बिहीवार १७:४८ मा प्रकाशित






























