२५ साउन, काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसोधनसहित पास हुनुपर्ने बताएका छन् ।
आफू प्रधानमन्त्री हूँदा यथास्थितिमै जसरी पनि एमसीसी पारित गराउनु पर्ने बताउँदै आएका ओलीले सत्ताबाट बाहिरिएसँगै संसोधनसहित पास हुनुपर्ने बताएका हुन् ।
पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवि र विज्ञहरुले दिएको सुझावहरुको आधारमा एमसीसी पारित गर्नुपर्ने बताएका हुन् ।
उनले भने ‘एमसीसी तपाईंहरुकै पालामा सम्झौता गरेको होइन ? १ सय ६५ को कृत्रिम मतले विश्वासको मत लिएकै छ त । पास गर्नु नि किन हामीलाई दोष ? हामी त स्पष्ट छौं । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवी र विज्ञहरुले दिएको सुझावहरुको आधारमा जनताको भावना अनुसार संशोधनसहित पास हुनुपर्दछ ।’
नेकपा रहेकै बेला भदौ २६ गतेको स्थायी समितिको बैठकले सर्वसहमतिकै रूपले हिन्द-प्रशान्त रणनीति लगायतका राष्ट्रिय हित प्रतिकूलका प्रावधानहरू रहेकाले तिनलाई सच्याएर मात्र अगाडि बढाउन सकिने निर्णय गरेको थियो ।
वि.सं.२०७८ साउन २५ सोमवार २१:३३ मा प्रकाशित






























