साउन २६, काठमाडौं । झापाको गिरिबन्धु टि इस्टेटको हदबन्दीभन्दा धेरै जग्गा बिक्रि गर्न दिनेसम्बन्धि निर्णयमा आफ्नो भूमिका नभएको दाबी गर्ने पूर्वमन्त्री पद्मा अर्यालले उक्त निर्णय गराएवापत दुई वटा गाडी उपहार लिएको खुलेको छ । दुई वर्षअघि भूमिसम्बन्धित ऐन संशोधन गराउने क्रममा नै उनले करिब दुई करोड पर्ने कोरियन ब्रान्डको गाडी उपहार स्वरुप लिएकी थिइन् ।
उपहारमा पाएको बा १७ च २१०० नम्बरको सो गाडी उनका श्रीमान् लक्ष्मी पौडेलले प्रयोग यसअघि प्रयोग गरेका थिए । तर, आलोचना र छानबिनको डरले उनले उक्त गाडी बेचेर स्कोरपियो गाडी खरिद गरिएको थियो ।
मन्त्री अर्याल भूमिव्यवस्था मन्त्री हुँदा नै हदबन्दीभन्दा धेरै जग्गा बिक्रि गर्न दिने गरि भूमिसम्बन्धि ऐनको संशोधन प्रक्रिया अघि बढाइएको थियो । नियमावली पनि उनकै कार्यकालमा बनेको थियो । जसमा कम्पनीहरु स्थानान्तरण गर्न दिँदा सबै सर्त तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएर चलखेल गर्ने ठाउँ दिईएको थियो । उनीपछि मन्त्री भूमि व्यवस्था मन्त्री भएकी शिवमाया तुम्बाहाम्फेले त्यससम्बन्धित प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन् । ओलीकै निर्देशनमा उनले सो प्रस्ताव अघि बढाएकी थिइन् ।
सोहीअनुसार असार २४ गते मन्त्रिपरिषदले बिर्तामोडको चिया बगान बिक्रि गरेर ग्रामिण क्षेत्रमा खोल्न अनुमति दिने निर्णय गरेको थियो । मन्त्री अर्यालले स्याङ्जाकै मुकुन्द शर्मामार्फत यससम्बन्धी ‘डिल’ गरेको खुल्न आएको दृष्टि साप्ताहिकले समाचार लेखेको छ ।
यसअघि यससम्बन्धी समाचार प्रकाशित भएकोप्रति पूर्वमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी थिइन् ।
वि.सं.२०७८ साउन २६ मंगलवार ११:५७ मा प्रकाशित






























