४ भदौ, काठमाडौँ । नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धकमा माधव नेपाल पक्षका निरञ्जन झा नियुक्त भएका छन् । विहिबार बसेको मन्त्री परिषद्को बैठकले झालाई कम्पनीको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ निवासी झा माधव नेपाल नेतृत्वको नेकपा एमाले(समाजवादी) निकट युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको महाप्रवन्धक गुरु भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । गठबन्धनको सरकार परिवर्तनसँगै भट्टराईलाई स्पष्टिकरण मागिएको थियो, उनले स्पष्टिकरण नदिई पदबाट राजीनामा दिएका थिए ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी विभाजन गर्दै बुधबार नेकपा एमाले(समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता गराएको छ ।
वि.सं.२०७८ भदौ ४ शुक्रवार १४:०४ मा प्रकाशित






























