back
CTIZAN AD

ओमान र अमेरिकासँगको त्रिकोणात्मक श्रृखलाका लागि नेपाली टिमको घोषणा, यी खेलाडीले पाए मौका

वि.सं.२०७८ भदौ ५ शनिवार

603 

shares

५ भदौँ, काठमाडौँ । ने पाल क्रिकेट सङ्घ ९क्यान०ले ओमानमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

टोलीमा गुल्सन झालाई पहिलोपटक समेटिएको छ । नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा आज १७ सदस्यीय टोलीको घोषणा गरिएको हो । बन्द प्रशिक्षणमा रहेका कमलसिंह ऐरी र साहब आलम टोलीमा अटाउन सकेनन् ।

नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव रहनुभएको क्यानका सचिव अशोकनाथ प्याकु¥यालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहनुभएको छ । टोली आगामी मङ्गलबार ओमान प्रस्थान गर्नेछ । ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको सिरिज अघि नेपालले यही भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसँग एकदिवसीय खेल खेल्ने तय भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । तीमध्ये दुईमा जीत र दुईमा हार बेहोर्दै नेपालले चार अङ्क जोडेको छ । नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

यस्तै ओमान १० खेलमध्ये आठमा जीत र दुईमा हार बेहोर्दै १६ अङ्कसहित शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्यान्डले खेलेको एउटा खेल वर्षाका कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार बेहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ ।

यसैगरी युएई सात खेलमा तीनमा जीत र तीनमा हारकासाथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्युगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्युगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ । लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्नेछन् ।

वि.सं.२०७८ भदौ ५ शनिवार १६:१२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...