भदौ ६, काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले)को पुरानै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको छ । माधवकुमार नेपाल पक्षले दल दर्ताको लागि निवेदन दिएअनुसार पुरानै कमिटीका सदस्यहरुबाट सनाखत गर्न आयोगले तयारी गरेको हो । आयोगले आगामी भदौ ९ गते माधव पक्षलाई सनाखतका लागि बोलाएको छ ।
माधव पक्षले दल दर्ताको लागि निवेदन दिएसँगै ओली पक्षले केन्द्रीय सदस्यहरु थपेर आयोगमा अद्यावधिकका लागि बुझाएको थियो । ओली पक्षले साबिक २०३ मा थप गरि २६० सदस्य बनाएको थियो । तर, आयोगले दल दर्ता गर्दाको पार्टीको विधान र त्यस समय आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यहरुको आधारमा नै विवाद टुंग्याउने निर्णय लिएको हो ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एमालेको पहिलेको सूचीअनुसार विवाद टुंग्याउने तयारी गरेको बताए । सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘अध्यादेशमा महाधिवेशनबाट निर्वाचित सदस्यहरुको आधारमा २० प्रतिशत भनिएको छ, त्यसैले हामीले सोहीअनुसार हिसाब गर्छौं ।’
ओली पक्षले केन्द्रीय सदस्य थपेर आयोगमा बुझाएसँगै माधव पक्षले साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिन आग्रह गरेको थियो । आयोगको पछिल्लो निर्णयसँगै अब अध्यादेशका आधारमा दल दर्ताको निवेदन दिएको माधव पक्षलाई साबिक केन्द्रीय सदस्यको २० प्रतिशत पुर्याए दल दर्ता हुनेछ । जसअनुसार ४१ सदस्य मात्रै भए हुनेछ ।
माधव पक्षले गत भदौ २ मा नेकपा (एकिकृत समाजवादी) (नाम संशोधनसहित) निर्वाचन आयोगमा २०३ केन्द्रीय सदस्यमध्ये ५८ केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित दल दर्ताको निवेदन दिएको थियो ।
वि.सं.२०७८ भदौ ६ आइतवार १३:५७ मा प्रकाशित






























