८ भदौ, काठमाडौं । आज देशैभरी २,५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १४ हजार ८१० नमुना परीक्षणमा देशैभरी २,५२५ जना नयाँ संक्रमित थपिएका हुन् । साथै पछिल्लो २४ घण्टामा २,०८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
आज थपिएका २,५२५ जनासँगै हालसम्म कोरोना संक्रमणबाट ८ लाख ३४ हजार २१६ जना संक्रमित भएका छन् भने सोहि अवधिमा ७ लाख २ हजार १८३ जना संक्रमणबाट मुक्त भएका छन् ।
त्यस्तै आज देशैभरी ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थपिएका ३५ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ५६८ पुगेको छ ।
नेपालमा हाल ३८ हजार २५० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३५ हजार १४५ जना होम आइसोलेशनमा रहेका छन् भने ३,१०४ जना संस्थागत आइलेशन सेन्टरमा रहेका छन् ।
त्यसैगरी हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६२० जना र १७० जना भेन्टिलेटमा उपचाररत छन् । सोमवारको तुलनामा आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या कम भएको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा ४९ लाख ४३ हजार ७३२ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने दुवै मात्रा खोप लगाउनेको संख्या ३८ लाख ५७ हजार ५९८ पुगेको छ ।
वि.सं.२०७८ भदौ ८ मंगलवार १७:२४ मा प्रकाशित




























