भदौ ९, काठमाडौं । प्रस्ताविन नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले आगामी चार महिनाभित्र माओवादी केन्द्रलगायतका पार्टीसँग एकता हुने बताएका छन् । बुधबार निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले चार महिनापछि एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी हुने बताए ।
जनमोर्चा, विप्लव, मोहन वैद्यलगायतको पार्टीबीच पनि एकता हुने उनको भनाई छ । ‘मुलुकमा नेकपा (एकीकृत समाजवादी) चार महिना पछाडि सबैभन्दा ठूलो पार्टी बन्दैछ, मुलुकको सबैभन्दा ठूलो पार्टी र यहि पार्टीको वरिपरि मुलुकको राजनीति अगाडि बढ्छ’, चौधरीले भने, ‘माओवादी केन्द्र, एकिकृत समाजवादी, जनमोर्चा, विप्लव, मोहन वैद्यलगायतका सबै कम्युनिष्ट घटकका बीचमा एकता हुन्छ ।’
पार्टी एकताका लागि तयारी अघि बढिसकेको भन्दै उनले छिट्टै निष्कर्ष दिने पनि बताए । ‘एकताका लागि तयारी अगाडि बढिसकेको छ, यसलाई टुंग्याउने प्रक्रियामा हामी अब अगाडि बढ्छौं’, चौधरीले भने ।
चौधरीले दल दर्ताको लागि भएको सनाखतमा अपेक्षाभन्दा राम्रो उपस्थिति भएको बताए ।
वि.सं.२०७८ भदौ ९ बुधवार १५:११ मा प्रकाशित






























