१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०,२९७ वटा नमुना परीक्षणमा देशैभरी १३८८ जनामा संक्रमण पुष्टि भएको छ भने २२६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा केही दिनयता प्रतिदिन कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या बढी रहेको छ ।
आज काठमाडौंमा ३१२, ललितपुरमा ११४, भक्तपुरमा ५२ गरी उपत्यकामा आज ४७८ जना संक्रमित थपिएका छन् ।
आज थपिएका १३८८ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ४२ हजार १९३ जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका १,३८८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख १२ हजार ७१२ पुगेको छ ।
त्यस्तै आज देशैभरी २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७१४ पुगेको छ ।
नेपालमा हाल ३५ हजार ७९३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३२ हजार ७४४ जना होम आइसोलेशन र ३०५२ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।
हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ६२५ र भेन्टिलेटरमा १६७ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
नेपालमा हालसम्म ५० लाख ६३ हजार ५२२ जनाले कोरोना भाइरसविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् भने ४० लाख ५२ हजार ७६५ जनाले दोस्रो मात्राको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७८ भदौ १३ आइतवार १७:०७ मा प्रकाशित






























