भदौ १४, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) गठनमा साथ दिएका नेता प्रदीप नेपालले झेली भएको भन्दै पार्टी छाडेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले माधवसँगै बस्न नसक्ने बताएका हुन् ।
पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद हुने विषयमा आफुँले अडान राखेको तर, माधवले उक्त कुरामा झेली गरेर धोका दिएको भनाई नेता नेपालको छ । ‘तपाईँ (माधवकुमार नेपाल) पनि झेली कुरा गर्न सिक्नु भएछ, बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ’, सामाजिक सञ्जालमा नेता नेपालले भनेका छन्, ‘तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो, विदा।’
उनले आफुँ केपी शर्मा ओलीसँग भने नजाने बताएका छन् । ‘माधव कमरेड, म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’, उनले भनेका छन् ।
पछिल्लो समय स्वास्थ्य समस्याका कारण राजनीतिमा निष्क्रिय देखिएका नेता नेपाल एकीकृत समाजवादको सनाखतका लागि भने निर्वाचन आयोग पुगेका थिए ।
वि.सं.२०७८ भदौ १४ सोमवार १५:१० मा प्रकाशित






























