१८ भदौ, काठमाडौं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र प्रदेश नं १ का धेरै तथा प्रदेश नं २, बागमती प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
त्यसैगरी आज कोशी र यसका सहायक नदीहरूमा बहाब सामान्य बढ्ने तथा नारायणीका सहायक नदीहरू विशेषगरी सेतीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै मझौला नदीहरु बागमती, तिनाउको बहाव पनि केही बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।
वि.सं.२०७८ भदौ १८ शुक्रवार ०९:०१ मा प्रकाशित






























