२५ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक बालुवाटारमा बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्न लागेको बैठकमा मन्त्रिपरिषद्विस्तार र एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ ।
पाँचदलका शिर्ष नेताहरुको उपस्थिति हुने उक्त बैठकमा मन्त्रिपरिषद् र एमसीसीका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गठबन्धनका शिर्ष नेतृत्वबीच बिहीबारको बैठकमा पनि सोहि विषयमा छलफल भएको थियो । संसदबाट एमसीसी अनुमोदन गराउन विषयमा दुई पक्षमा मत बाझिएका बेला एमसीसी उपाध्यक्ष फातिमा सुमार ४ दिने नेपाल भ्रमणमा नेपाल आएकी छन् । एमसीसीका विषयमा सत्तारुढ गठबन्धनभित्रै मत बाझिएको छ । कांग्रेस र जनता समाजवादी पार्टी एमसीसी पास गराउने पक्षमा देखिएको छ भने नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) पार्टी भने यसको विपक्षमा रहेको छ ।
त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीवार भएको एमसीसी उपाध्यक्ष सुमारसँगको भेटमा एमसीसीका विषयमा सत्तारुढ दलहरुको धारण नआइकन आफ्नो पार्टीले यस विषयमा कुनैपनि धारणा बनाउने अवस्था नरहेको बताएका छन् ।
बिहीवार बिहान काठमाडौं उत्रिएकी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले पहिलो भेट एमाले अध्यक्ष ओलीलाई गरेको थियो ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार ०९:०७ मा प्रकाशित






























