३० भदौ, काठमाडौं । बजारमा छ्याप्छ्याप्ती पाइने २० वटा कम्पनीका स्यानिटाइजर हानिकारका पाइएको छ । औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्न नहुने पाइएको थियो । तर, मानव स्वास्थ्यलाई घातक हुने त्यस्ता कम्पनीको उत्पादन बिक्रि वितरण गर्न अझै रोकिएको छैन ।
कतिपयले विभागमा दर्ता नै नगरी यस्ता स्वास्थ्य सामग्री अबैद्य ढंगले उत्पादन गरिरहेका छन् । ती मध्ये कतिपय कम्पनीले आफ्नो दर्ता नम्बर बताउन समेत आनाकानी गरेको समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।
यी हुन् हानिकारक पाइएका २० स्यानिटाइजर
ओपेका नन वासिङ एन्टिब्याक्टिरियल, पामा केयर एन्स्ट्यान्ट हेण्ड स्यानिटाइजर, सासा इसट्यान्ट हेण्ड स्यानिटाइजर, युनिकेयर इसट्यान्ट स्यानिटाइजर,हर्वल ट्री हेण्ड रब, कुम हेण्ड स्यानिटाइजर, क्लिन हेण्ड स्यानिटाइजर, कुमकुम इन्स्ट्यान्ट हेण्ड स्यानिटाइजर, इन्स्ट्यान्ट हेण्ड स्यानिटाइजर, इन्स्ट्यान्ट हेण्ड स्यानिटाइजर ओरिजिनल, साधना इन्स्ट्यान्ट हेण्ड स्यानिटाइजर, ड्रोन हेण्ड स्यानिटाइजर, हेण्ड रब, सेफ हेण्ड्स,इन्सटेन्ट हेण्ड स्यानिटाइजर, इन्सटेन्ट हेण्ड स्यानिटाइजर, रिफ्रेसिङ, जेल, सुर्यमुखी हेण्ड स्यानिटाइजर, एरोसफ्ट इन्सट्यान्ट स्यानिटाइजर लगायतका रहेका छन् । यी स्यानिटाइजरका उत्पादन कम्पनीहरु फरक–फरक रहेका छन् ।
यी स्यानिटाइजरमा प्रायजसो इथानोल र मेथानोल बढी मात्रामा प्रयोग गरिएको पाइएको छ । स्ट्याण्ड हेण्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ को मापदण्डमा रहेर उत्पादन गर्नुपर्नेमा त्यसो नगरेको पाइएको छ । यस्ता स्यानिटाइजर काठमाडौं, भक्तपुर, वीरगन्ज लगायतका सहरी क्षेत्रमा उत्पादन गरेको पाइए)को छ ।
वरिष्ठ छालारोग विशेषज्ञ धर्मेन्द्र कर्णले विषाक्त स्यानिटाइजर प्रयोग गरेका कारण छालाजन्य समस्या लिएर धेरै मानिस आउने गरेको बताउँछन् । डा. कर्णका अनुसार हातको छाला चिलाउने, कन्याउँदा घाउ पाक्ने र फोका उठ्छ र पोल्छ । त्यसले विस्तारै नङलाई छुने र नङ पाक्न सक्ने क्षति हुन्छ ।
ती स्यानिटाइजरहरुमा विश्व स्वास्थ्य संगठनले तोके अनुसार अल्कोहल नपाइएको डा.कर्ण बताउाछन् । ‘स्यानिटाइजरमा अल्कोहल कम्तिमा ६० प्रतिशत हुनुपर्छ । हाइड्रोजन पेरोक्साइड, ग्लिसरिन, डिस्टल वाटर मिसाएको हुनुपर्छ ।’ डा. कर्ण भन्छन् ।
वि.सं.२०७८ भदौ ३० बुधवार ०२:३१ मा प्रकाशित






























