काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्याचारलाई पुनःस्थापित गर्न चाहनेले माओवादीको विरोध गर्न थालेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीको विरोध गर्न हिजोका कर्मचारीतन्त्रका ठूला भनिने मान्छे लागेको बताए ।
पूर्वसचिव रामेश्वर खनालप्रति इंगित गर्दे प्रचण्डले परिवर्तन विरोधीको आवाज भनि संज्ञा दिए । उनले माओवादी सिद्धिएर के आउँछ भनि प्रश्न गरे ।
‘कतिपय ठुल्ठूला महान विद्धान कर्मचारीतन्त्रका ठुला भन्नेहरु चाहिँ माओवादी नसकिदाँसम्म यो देशले सुख पाउँदैन भनेको सुन्नु भएको छ नि हिजो अस्ति मात्रै’, प्रचण्डको प्रश्न छ, ‘को हुन् ति मान्छेहरु ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरी पुनःस्थापित गर्न चाहाने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरूलाई सिध्याएपछि हुन्छ के ?’
पूर्वसचिव खनालले केही दिनअघि माओवादी सकिनुपर्ने भन्दै केही ट्विट गरेका थिए। उनले ‘ माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिनँ म त’ भनेका थिए ।
वि.सं.२०७८ कात्तिक ७ आइतवार १७:३६ मा प्रकाशित